सकारात्मक सोचले जोडिएका डा. सुवास र सम्भा



Download our app to get more features

प्रायः सम्बन्धलाई असल व्यवहार र मिठो बोलीवचनले जोडेको पाइन्छ । कतिपय सम्बन्धको माध्यम बाहिरी सुन्दरता पनि बन्ने गर्छन । तर, हाम्रो समाजमा यस्ता सम्बन्ध पनि छन् जुन अथाह मेहेनत र परिश्रम गर्ने बानीका कारण गाँसिएका छन् । यसको एक उदाहरण हो डा. सुवास घिमिरे र डा. सम्भाको  दम्पती । जीवनको लामो समय अध्ययनमा खर्चेपछि करिअरको सुरुवात गर्दैगर्दा उनीहरू सम्बन्धको संघारमा पुगेका थिए । दुवैको मेहेनत गर्ने बानी र समाजका लागि केही गरौं भन्ने सकारात्मक सोचका कारण उनीहरूको सम्बन्धले मनको दैलो उघार्न समय लागेन । 

कुरा सन् २००० को हो, सुवास भारतबाट बीडीएस सकेर भर्खरै मात्रै चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलमा बिरामी जाँच्न थालेका थिए । बंगलादेशबाट सोही विषयमा अध्ययन गरेर फर्केकी सम्भाले पनि संयोगबस त्यही हस्पिटलमा काम सुरु गरिन । सामाजिक सेवा भाव बोकेका डा. सुवासमा कामप्रतिको नसा सुरुदेखि नै थियो । बिरामी जाँच्न थालेपछि बाँकी सबै दुनियालाई बिर्सने बानी थियो सुवासमा । सम्भाको स्वभाव पनि उस्तै । सबेरै क्लिनिक पुगेपछि राती अवेरसम्म बिरामीसँगै हुन्थिन । अरु डाक्टरहरू काम सकेर घर जाने तर्खर गर्दा डा. सुवास र सम्भाका अघिलतिर भने बिरामीको भिड हुन्थ्यो । बिरामीको भिडमै उनीहरुको आँखा जुध्यो । कामको व्यस्तताबीच उनीहरूबीच आँखाका इसाराबाटै मनका कुरा आदनप्रदान हुन थालेँे । ‘कतिबेला हामीले एकअर्कालाई मन परायौं थाहा नै पाएनौं,’ हाम्रो डाक्टरको टिमसँग सुवासले सम्बन्धको रहस्य खोले, ‘मेहेनेत गर्ने बानीका कारण हामी एकअर्काप्रति आकर्षित भएका हौं ।’ सम्भाले पनि सुवासतर्फ फर्किएर मौन समर्थन जानाइन । सम्भाले सम्बन्धबारे अझै खुलाइन, ‘हामीले कुनै रोमान्स नगरी सम्बन्धलाई बलियो बनायौं । दुवैको बानी काममा रमाउने थियो ।’ सामान्यतया जोडीहरूले माया प्रगाढ बनाउन काम वा अध्ययनबाट समय निकालेर वा थाती राखेर एकअर्कालाई समय दिने गर्छन । अधिकांश समय ‘रोमान्स’मा बिताउन चाहन्छन् । तर, सुवास र सम्भाले काममा सँगै र व्यस्त हुनुलाई रोमान्सका रुपमा लिए । सम्भाले थपिन, ‘काम गर्दा एकले अर्कालाई देखे पनि रोमान्स गरे जस्तो हुने अवस्थामा थियौं ।’

विवाहको संघर्ष 
भनिन्छ, माया र युद्धमा सबै कुरा छुट हुन्छ । चोखो मायालाई कुनै बहानाले रोक्दैन । सुवास र सम्भाको मायाका अघिल्तिर पनि यस्तै भयो । तर, सम्बन्धलाई सामाजिक मान्यता दिलाउन भने धेरै संघर्ष गर्नु पर्यो । सुवास थिए ब्राम्हण परिवारका । जहाँ जात र धर्मलाई प्रतिष्ठा र इज्जतका रुपमा लिइन्थ्यो । सम्भा थिइन नेवारकी छोरी । नेवार समुदाय पनि आफ्ना मुल्य र मान्यतामा कहाँ कम्जोर थिए र । विवाहका लागि घरमा कुरा चल्न थालेपछि उनीहरूमा प्रेम सम्बन्धबारे अभिभावकलाई बताउनै पर्ने बाध्यता आईपर्यो । उनीहरूले सहजै आफ्नो प्रेमबारे परिवारलाई बताइदिए । तर, दुवै परिवार उनीहरूको विवाहको विपक्षमा उत्रियो । सुवासको घरमा नेवारको छोरी कसरी भित्राउने भन्ने चिन्ता छायो । सम्भाको घरमा ब्राम्हणलाई छोरी दिँदा भविष्य के होला भन्ने संसय पैदा भयो । तर, उनीहरूले आ–आफ्नो परिवारलाई सम्झाउन थाकेनन् । अन्ततः उनीहरूको प्रेमको अघि दुवैका आमाहरूको मन पग्लियो । सुवास र सम्भा आ–आफ्नो खुट्टामा उभिसकेका थिए । परिपक्क उनीहरुलाई आफ्नो मायाप्रति त्यतिकै विश्वास थियो । त्यही विश्वासका आधारमा समाजको मुल्य मान्यतालाई पन्छ्याउँदै उनीहरूका आमा उनीहरुको विवाह गर्न तयार भए । सुवास र सम्भाको वैवाविक यात्राले १८ वर्षको सुखद् यात्रा गरिसकेको छ । यो यात्रामा दुवै खुसी र सुखी छन् ।

जिम्मेवारी बाँडफाडमा सम्झौता 
सामान्यतया विवाहपछि महिला र पुरुष दुवैको जिम्मेवारी बढ्छ । त्यसमाथि विवाहित महिलाका अगाडी अनगिन्ती जिम्मेवारी र चुनौति खडा हुन्छन् । परिवार शिक्षित, आधुनिक र समझदार भए पनि महिलाले पुरुषको तुलनामा केही थप जिम्मेवारी सामाजिक रुपमा सम्हाल्नै पर्ने हुन्छ । त्यो समयमा कतिपय महिलाको करिअर नै अवरुद्ध हुन्छ भने कतिपयले पूर्ववत रुपमा काम अघि बढाउन सक्दैनन् । यस्तै परिस्थितीको सामना गर्नु पर्यो सम्भाले । सुवास चाहन्थेँ सम्भा पनि आफुसँगै काममा दौडिरहुन । तर, सम्भाले चाहेर पनि त्यो गर्न सकिनन् । सम्भाले सुवाससँगै थप अध्ययनलाई निरन्तरता दिन सकिनन् । सुवास विवाहलगत्तै अध्ययनका लागि चीन गए । तर, सम्भाले त्यसको एक वर्षपछि मात्रै थप अध्ययनका लागि चीन जाने मौका पाइन । सुभासले मुख तथा अनुहारको शल्यचिकित्सामा स्नातकोत्तर गरे, सम्भाले अर्थो डोटिक्समा स्नाकोत्तर गरिन ।

मेहेनतले आर्जेको सुखी संसार 
अध्ययन सकेर फर्केपछि दुवैले उपचार सेवालाई निरन्तरता दिए । सुवासको व्यस्तपन अझै बढ्यो । चाहेको खण्डमा महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने बुझेका सुवासले चीनमा नेपालमा जस्तो महिलामाथि हुने विभेद देखेनन् । र सम्भालाई काममा अझै अघि बढ्न प्रेरित गर्न थाले । तर, छोराछोरीको भविष्य पनि सुन्दर होस् भन्ने चाहना राखेकी सम्भाले थोरै बिरामी जाँचेर छोराछोरीलाई समय दिन थालिन ।

सुवासको हरेक दिन बिहान सवा चार बजेदेखि योग गरेर सुरु हुन्छ । केहीबेर अध्ययनपछि नास्ता खाएर उनी बिरामी जाँच बिहान ८ बजे नै कोठा छोड्छन् । सम्भाले भने छोराछोरीलाई समय दिएर नक्सालस्थित आफ्नो कलेज हेर्न पुग्छिन् । सातामा दुई पटक मात्र बिरामी जाँच गर्छिन । छोराछोरी विद्यालयबाट घर पुग्ने बेला सम्भालाई पनि घर पुग्नै पर्छ । ‘मेरो आन्तरिक खुसी म, श्रीमान, छोराछोरी  र परिवारसँग जोडिएको छ । त्यसैले उनीहरूलाई खुसी नपारी म हास्न सक्दिन,’ उनी भन्छिन, ‘त्यसैले परिवारलाई दिएर बचेको समय म अफिसलाई दिन्छु । जुन कुराले मलाई सन्तुष्टि पनि दिन्छ ।’ सम्भाको कामप्रति सुवासले सम्मान छ । तर सम्भा पनि आफु जस्तै काममा दौडियोस भन्ने सुवासको भित्रि चाहना अझै मरेको छैन । सुवास भन्छन्, ‘उनले घरपरिवारको ७५ प्रतिशत जिम्मेवारी लिदा मैले २५ प्रतिशतमात्रै लिएको छु । म मेरो जिम्मेवारी बढाउन चाहन्छु । तर उनी मान्दिनन् ।’ कतिपय काम महिलाले नै गरेको राम्रो हुने धारणा सम्भाको छ । सम्भा भन्छिन, ‘कतिपय काम महिलाले नै गर्दा व्यवहारिक र दीर्घकालिन हुन्छ । त्यसमा पुरुषले सहयोग त गर्न सक्छन तर, पुरै जिम्मेवारी लिन मिल्दैन ।’ गर्भवती हुने, बच्चा जन्माउने, बच्चाको स्याहार सुसार गर्ने, उनीहरूलाई खाना खुवाउने र उनीहरूसँग समय बिताउने कामप्रति सम्भाले इंगित गरेकी थिइन ।  

तीन कुराले बचाएको सम्बन्ध 
प्रेरणा, समझदारी र सम्मानले सम्बन्धलाई बचाउँछ । सुवास र सम्भाको सम्बन्ध बचाउँन पनि यी तीन कुराको भूमिका ठूलो छ । दुवैको मेहेनेत गर्ने बानी छ । समय अनुसार भूमिका फरक फरक हुन सक्छ । जे गरे पनि उनीहरू एकअर्काको कामलाई सम्मान गर्छन । ‘ हेर्दा सामान्य लागे पनि परिवार सम्हाल्नु र छोरोछरीको चाहना पुरा गर्नु मुस्किलको काम हो,’ सुवास भन्छन् । उनीहरूबीच पनि कहिलेकाही ठाकठुक हुन्छ । तर, तत्कालै समाधान गर्ने कोशिस गर्छन । ‘सम्बन्धलाई टुटाउने इगोले हो । हामी जे भए पनि एकअर्कामा इगो राख्दैनांै, बरु छलफल गर्छौ ।’ सुवास भन्छन् । सम्भा त्यसमा सहमत नहुने कुरै भएन । उनलाई पनि लाग्छ ‘इगो’ले सम्बन्ध टुक्राउँछ । दुवैले एकअर्कालाई डाक्टरसाप भनेर बोलाउँछन् ।

एकअर्काको मन नपर्ने कुरा 
सम्भालाई सुवास जिद्धी लाग्छ । ‘सबै कुरा उहाँले आफुलाई भनेको जस्तो हुनुपर्छ भन्ने जिद्धी गर्नुपर्छ । तर त्यो व्यवहारमा सँधै सम्भव छैन । जिद्धीपनले कहिलेकाही झगडा पनि निम्त्याउँछ’, सम्भा भन्छिन । सम्भाको सुवासको जिद्धीपन परिवर्तन भइदियोस् भन्ने चाहना छ । सुवासलाई भने सम्भाको परम्परागत मुल्यमान्यतालाई धेरै पछ्याउने बानी मन पर्दैन । ‘महिलाले गर्दै आएको काम उनीहरूले मात्रै गर्नुपर्छ भन्ने सम्भाको बानी छ,’ सुवास भन्छन, ‘त्यसलाई छोडर मनले चाहेको काम पनि गर्नुपर्छ ।’

एकअर्काको खुुसीले सम्बन्ध जोगायो 
‘मायाका अघि सानातिना असमझदारी हराउँछन,’ सुवास भन्छन् । त्यसमा सम्भाले पनि सहमति जनाइन । सम्बन्धमा सानोतिनो सम्झौता पनि गर्नुपर्छ । ‘उहाँको चाहना अनुसार अझै हिडन् सकिन की भन्ने मलाईं लाग्छ । त्यसका लागि म कोशिस गरिरहेको छु । उहाँ त्यो कुरामा सकारात्मक हुनुहुन्छ,’ सम्भा भन्छिन । सुवासलाई पनि सम्भाले लिइरहेको जिम्मेवारीको केही हिस्सा आफु लिन चाहिरेका छन् ताकी सम्भाको आफ्नो छुट्टै पहिचान बनोस् । अन्तमा दुवै जनाले एकै पटक भने, ‘हाम्रो माया एकअर्काको खुसीबारे सोचेर काम गर्ने बानीका कारण बाँचिरहेको छ ।’ 

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2017-11-25 16:57:27

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts