भरतपुर अस्पताललाई देशकै नमूना अस्पताल बनाउँछु : मेसु डा. पौडेल

यस्ता छन् योजना



Download our app to get more features

चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत प्रा.डा. कृष्णप्रसाद पौडेल दोस्रो पटक मेडिकल सुपरिटेण्डेन्ट बनेका छन् । 

चितवनमा प्रा.डा. कृष्ण चिकित्सा क्षेत्रको निकै चिरपरिचित एवं चर्चित नाम हो । उनलाई नचिन्ने सायदै कम होलान् । उनी निकै जुझारू एवं केही गरेर देखाउनुपर्छ भन्ने चिकित्सक मध्यमा पर्छन् । यसअघि मेसु बन्दा आफ्नो कार्यकालमा नयाँ कामको निकै थालनी गरेका थिए । केही पुरा गरेका थिए त केही प्रक्रियामै थिए । अहिले मेसु बनेको दुई साता बित्दै गर्दा अस्पतालमा विकासका प्रयासहरू हुँदै छन् ।

यसअघि अस्पतालको ३८ औँ मेसु बनिसकेका उनी अहिले अस्पतालको ४६ औँ मेसु समेत बन्ने अवसर पाएका छन् । उनी वि.सं. २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म करिब ८ महिना मेसु बनेका थिए । चितवनका नै स्थानीय बासिन्दा उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् । जसले गर्दा सर्वसाधारणले उनी नियुक्ति भएपछि अब अस्पतालको चौतर्फी विकासको आशा समेत व्यक्त गरेका छन् ।

यसअघि प्रा.डा. पौडेलले नेपाल चिकित्सक संघ चितवनको अध्यक्षको कार्यभार समेत कुशलता पूर्वक सम्हाल्ली सकेका छन् ।

मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. पौडेलका केही शब्दः
गरिबको अस्पताल 

भरतपुर अस्पताल आर्थिक रूपमा विपन्न बिरामीको लागि समेत आशाको केन्द्र बन्दै आएको छ । विकट स्थानका चेपाङदेखि नदि किनारामा बस्ने माझिहरुसम्मको उपचार यहाँ हुँदै आएको छ । गरिब जनताहरुको उपचार हुने विशेष अस्पतालको रुपमा भरतपुर अस्पताल रहेको छ । कोही मानिस उपचारबाट बञ्चित हुनु नपरोस् भनेर विभिन्न राहतका कार्यक्रमहरू समेत यस अस्पतालमा सञ्चालनमा रहेको छ ।

‘मेडिकल सिटी’ बन्नुमा प्रेरणाको मूल स्रोत 
भरतपुरलाई ‘मेडिकल सिटी’ को उपनामले समेत चिनिन्छ । यसरी ‘मेडिकल सिटी’ को रुपमा आजको यस अवस्थासम्म विकास गराउन भरतपुर अस्पताल प्रेरणाको मूल स्रोत बन्यो । यहाँको भौगोलिक अवस्थिति, यहाँको जनचेतनाको स्तर, पूर्वाधारको विकास आदि कारणहरु ‘मेडिकल सिटी’ सहयोगी बनेको छ । 

राजा महेन्द्रका पालामा बनेको पूर्वपश्चिम महेन्द्र राजमार्गको लामो सडकखण्ड चितवन र यस आसपासका जिल्लाहरुमा पर्नु, पूर्व तथा पश्चिमका जिल्लाहरुबाट राजधानी प्रवेशको मुख्य मार्ग यहीँ हुनु र तिव्र रूपमा शहरीकरण रूपमा अघि बढ्नुका कारणले पनि चितवन एक चहलपहल हुने जिल्लाका रूपमा केन्द्रित छ । जसले ‘मेडिकल सिटी’ को रूपमा विकास तथा परिचित गर्न सहयोग गरेको छ ।

देशकै नमूना अस्पतालको रूपमा विकास हुँदै
नेपालकै मध्यभागमा अवस्थित यस भरतपुर अस्पताललाई देशकै नमूना अस्पताल बनाउने तयारी भइरहेको सन्दर्भमा सबैको ध्यान यस अस्पताल तर्फ केन्द्रित बनिरहेको पाइन्छ । अर्को तर्फ गरिब, अशक्त, असहाय, निमुखा, राज्यको मूलप्रवाहबाट बहिष्करणमा परेका समुदायहरुको निःशुल्क उपचार हुने केन्द्र पनि यहीँ नै भएका कारणले पनि यस अस्पताल प्रति जनताको अपार माया, सद्भाव, भरोसा अनि चासो पनि उत्तिकै रहेको छ । सबैलाई लागेको छ भरतपुर अस्पताल बनाउनु पर्दछ, बनाउनै पर्दछ । यसको सेवा प्रभावकारी हुनु नै पर्दछ । 

यस जिल्लाका स्थानीय जनता, राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवि, आम नागरिक मात्र होइन् सरकार तथा उसका विभिन्न निकायहरुले पनि यस अस्पतालको विकास र सम्वृद्धिका लागि निकै चासो लिइरहेका छन् । यस अस्पताललाई देशभरि कै सरकारी अस्पतालहरुमा नमूना अस्पताल बनाउने मेरो योजना छ । योसँगै अन्य सरकारी निकायहरुलाई पनि विकास गर्दै लैजाने सोच सरकारको पनि देखिन्छ । अस्पताल भित्रका सबै चिकित्सक, कर्मचारी, नर्सदेखि लिएर जिल्लाका सबै राजनैतिक पार्टि, नागरिक समाज, बुद्धिजीवि, पत्रकार, कानुन व्यवसायी, उद्योगी सबैको साथ र माया ममतामा भरतपुर अस्पताललाई देशकै नमुना अस्पताल बनाउने सपना साकार पारौं ।

केही गरेर देखाउनु छ 
अस्पताल भित्र मैले आफुले सकेको जति योगदान दिने र अस्पताललाई केही नयाँ स्वरूपमा लैजाने अठोट लिएर नै म यस अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट भएर आएको हुँ । सबै कर्मचारीहरुलाई समान व्यवहार गर्ने, क्षमताका आधारमा उचित जिम्मेवारी दिने, पुरस्कार र दण्डको व्यवस्था गर्ने, विधी र पद्धतीको विकास गर्दै अस्पताललाई प्रविधिमैत्रि बनाउने काम मेरो कार्यकालमा हुने छन् । यहाँहरू सबैको सकारात्मक सहयोगको अपेक्षा लिएको छु ।

आफ्नै कोरोना प्रयोगशाला 
अस्पताल मातहत रहेको कोरोना परीक्षण प्रयोगशाला वि.सं. २०७६ साल चैत २३ गतेदेखि भरतपुर–१० स्थित वाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा रहेको छ । भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । 

त्यसअघि चितवनबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ र हेटौंडा पठाउनु पर्ने बाध्यता थियो । जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । 

स्वास्थ्य केन्द्रबाट शुरू भएर अहिले केन्द्रीय अस्पताल 
यस अस्पतालको स्थापना वि.सं. २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ । पछि गएर वि.सं. २०२० सालमा महेन्द्र आर्दश चिकित्सालयको रुपमा नामकरण भएको थियो । 

वि.सं. २०३९ सालमा अस्पताल विकास तथा सहयोग समिति गठनसंगै अस्पतालमा स्थानिय र समुदायको संलग्नता बढेको देखिन्छ । 

१५ शय्याबाट शुरु गरि ६  सय शय्या भन्दा बढी सञ्चालनमा 
त्यस्तैगरी वि.सं. २०५९ सालमा अस्पताल विकास समिति स्थापना भएको थियो । १५ शय्याबाट शुरु भएको यो अस्पताल वि.सं. २०६७ सालमा ४ सय १५ शय्या हुँदै हाल करिब ६ सय शय्या भन्दा बढिमा सञ्चालन छ । यस अन्तर्गत नेपाल सरकारको ३ सय शय्या र अस्पताल विकास समिति अन्तर्गत ३ सय शय्या सञ्चालनमा छ ।  

नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित भरतपुर अस्पताल विशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति वि.सं २०७५  साल फागुन ३ गतेको निर्णयानुसार यस अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती गरी संघीय सरकार अन्तर्गत राखिएको छ । यो अहिले केन्द्रीय अस्पताल बनेको छ । 

गर्नै पर्ने काम
अस्पतालमा हुने भीडभाड तथा लाइन बस्नुपर्ने बाध्यताको व्यवस्थापन, छिटो छरितो र गुणस्तरीय सेवा, उचित ढल निकास, कर्मचारी व्यवस्थापन लगायत अस्पतालको चौतर्फी विकास गर्नु आवश्यक छ ।

सम्भावना बोकेको अस्पताल 
यस अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरि नेपाल कै एक नमुना केन्द्रिय अस्पतालको रुपमा विकास गर्न सकिने बोकेको छ । 

आधुनिक उपकरणहरु जडान गरि सबै प्रकारका सेवाहरुलाई प्रभावकारी बनाउने, ढल, फोहरमैला आदीको वैज्ञानिक तरिकाले व्यवस्थापन गरि सफा अस्पताल बनाउन सकिन्छ ।  

अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्न तथा भविष्यमा अस्पतालको सम्भावनाको अध्ययन गरि रणनैतिक योजना बनाई आम नागरिकको लागि गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो अस्पतालको रुपमा विकास गर्न सकिन्छ ।

छोटकरीमा भरतपुर अस्पताल विकासको अवधारणपत्र

वि.सं. २०७५ साल फागुन ३ गते भरतपुर अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय नेपाल सरकार मन्त्री परिषद्ले गरेपछि वि.सं. २०१३ सालमा स्वास्थ्य केन्द्रको रूपमा स्थापित यस चिकित्सालयले केन्द्रीय अस्पतालको दर्जा प्राप्त ग¥यो । हैसियतमा जिल्ला अस्पतालबाट माथि उक्लिएको तिन वर्ष हुन खोज्दा पनि त्यसअनुरूप छुट्टै अनुभूति भने हुन पाएको छैन । त्यसैले नामअनुसार यसलाई सबै विषयको रेफरल सेन्टरसहित सुविधासम्पन्न बिरामी मैत्री केन्द्रीय अस्पताल बनाउन केही उल्लेख्य कसरत नगरीकन जनताको पूर्ण विश्वास जित्न सक्ने अवस्था अझै छैन ।

त्यसैले दीर्घकालीन गुरुयोजना बनेर पनि यो अनुसार काम गर्न तल्लीन हुनुपर्ने एकातिर आवश्यकता छ भने तत्कालै बिरामी र बिरामीका आफन्तले अनुभूति हुने गरी अल्पकालीन अवधिमा गरिहाल्नु पर्ने केही कामहरूको टिपोट यसरी प्रस्तुत गरेको छु :

१) हालसम्म ३०० बेड स्वीकृत भएर पनि जम्मा १७५ जना सरकारी दरबन्दी कायम राखी १५० बेडकै हिसाबले अस्पताललाई स्वास्थ्य मन्त्रालयले हेर्दै आएकोमा अब सो दरबन्दीलाई छिट्टै O & M नयाँ सर्भेअनुसार गरी नेपाल सरकारको स्वीकृत दरबन्दीमा बृद्धि गर्ने जसले गर्दा विकास समितिको अस्वाभाविक भारलाई कम गर्दै त्यसले पैदा गरेको असमञ्जस्य अवस्थालाई अन्त्य गर्ने । 
२) मदन भण्डारी ट्रमा सेन्टर भनी कार्यक्रम सुरु भएर पनि अलपत्र अवस्थामा रहेकोले र नेपालको मध्य भागमा अवस्थित यस ठाँउमा सुविधासम्पन्न ट्रमा सेन्टरको अवश्यकता तत्कालै भएकोले तुरुन्तै यसको निर्माणार्थ कार्ययोजना स्वास्थ्य मन्त्रालयमा पेश गर्ने । 
३) वि.सं. २०७२ सालमा मन्त्रालयबाट स्वीकृत भरतपुर अस्पतालको १० वर्षे गुरुयोजनाअनुरूप यसलाई सरकारी मेडिकल कलेजको रूपमा विकास गर्न पहल गर्ने । हाललाई चि.वि.रा.प्र. को प्राज्ञिक इकाई भएकोमा यस कार्यक्रमलाई अभिवृद्धि गर्दै पूर्ण प्राज्ञिक थलोको रूपमा विकास गर्ने । 
४) ईमर्जेन्सी सेवालाई चुस्त–दुरुस्त बनाउन यसलाई नयाँ भवनमा सार्नुपूर्व पनि ट्रमा र नन–ट्रमालाई दुई भागमा वर्गीकरण गरी इमर्जेन्सी सेवा सञ्चालन गर्ने । 
५) Private Wing को छुट्टै व्यवस्था गर्ने । सरकारको नीति नै नियमित समय बाहिर बिस्तारित अस्पताल सेवा सुरु गर्न मिल्ने भएकोले छिटोछरितो सेवा खोज्न र पैसा तिर्न गाह्रो नपर्ने वर्गलाई लक्षित गरी बिहान र बेलुका छुट्टै बिल्डिङमा सबै सेवासहितको स्वास्थ्य सेवा (सःशुल्क) दिने । यसले अतिरिक्त आम्दानी हुने भै चिकित्सक र कर्मचारी पनि लाभान्वित भई नीजि अस्पतालतिर धाउन नपर्ने अवस्था आउने छ । 
६) एम.आर.आई., पिआईसियू र कार्डियाक क्याथ ल्याब सेवा, स्पाइनल इन्जुरी केन्द्र सुरु गर्ने । 
७)  अस्पतालमा छुट्टै प्रसुति भवनको सञ्चालन गर्ने । यसमा सिजरिङ्ग सेक्सनको लागि छुट्टै यहीँभित्र अपरेशन कक्ष र बर्थिङ्ग सेन्टर रहने छन् । नर्सिङ्ग कलेजमा मिडवाइफ्री कोर्ष सुरु गर्ने । 
८)  सबै विभागमा Subspecialties हरूको विकास गर्दै यसलाई नेपालकै उत्कृष्ठ Referral Center को तहमा पु¥याउने । केही अप्रेशन कक्षहरूलाई Modular बनाउने । 
९)  भरतपुर महानगरपालिकासँग मिलेर अस्पतालजन्य फोहोर व्यवस्थापनलाई कडाईका साथ लागू गर्नुका साथै ढल–नालाको उचित निकासको व्यवस्था गर्ने । 
१०) अस्पतालको आफ्नै नाममा ३०—११—०६ विगाहा जग्गा भए तापनि हाल उपलब्ध जम्मा करिब ११ विगाहा मात्रै रहेकोले यसको विस्तारमा समस्या हुन सक्ने हुँदा सिटिइभिटी, मेडिकल कलेज, आँखा अस्पताल र जनस्वास्थ्य कार्यालयलाई दिईएको प्रयोगविहिन जमिन यथासक्य छिटो फिर्ता गर्ने । 
११)  इमर्जेन्सी प्रयोगशालाको तुरुन्त स्थापना र सञ्चालन गर्ने । 
१२) ओपिडी टिकट बुकिङ्गलाई अनलाईन बनाउने जसले गर्दा ओपिडीको भिडमा कमी हुन जानेछ । 
१३) हस्पिटल सफ्ट्वेयर खरिद गरी रकेर्डिङ्ग रिपोर्टिङ्गलाई डिजिटल बनाउने । 
१४) चिकित्सक र कर्मचारी आवास केन्द्रहरू बनाउन पहल गर्ने । 
१५) हस्पिटलको हालको बिलिङ्ग सिस्टममा धेरै भिड हुने भएकोले बिलिङ्ग काउन्टरहरू कम्तीमा ३–४ ठाँउमा बनाउने । समग्रमा सेवा प्रवाहलाई गुणस्तरीय  बनाउन सबै प्रयासहरू गर्ने । 
१६) कोरोना महामारीका विरामीलाई उचित सेवाको व्यवस्था गर्दै नन्–कोभिड बिरामीहरूको सेवा पूर्ववत अवस्थामा सञ्चालन गर्ने ।

वि.सं. २०७५ असोज ५ देखि २०७६ जेठसम्मको मे.सु. को कार्यकालमा सम्झेका महत्त्वपूर्ण कामहरू :
    जुनसुकै कार्यालय वा संस्थाको प्रमुख गुण भनेको आन्तरिक अनुशासन हो मेरो कार्यकालमा प्रशासनिक अनुशासन र आर्थिक अनुशासन कायम गर्न मुख्य ध्यान दिएको । 
    मासिक २८/२९ लाख बिजुली दस्तुर बुझाउने गरिएको थियो । सरकारी कार्यालयले पाउने सुविधा लिनतिर कसैले ध्यान नदिएको र विद्युतको पैसा नतिर्ने कर्मचारी र व्यापारीहरूको कारण गरेपछि मासिक ८–९ लाख रूपैया तिरे पुग्ने हुन गएको थियो ।
   CTEVT बस्दै गरेको जग्गा पनि अस्पतालको नै भएको र २०७४ सालमा CTEVT को नयाँ भवन बनिसकेपछि अस्पताललाई १ विगाह ८ कट्टा जग्गा फिर्ता गर्ने सहमति भईसके पनि सो जग्गा र भवन फिर्ता भएको थिएन । आफू मेडिकल सुपरिन्टेन्डेन्ट भएपछि सो मध्ये १९ धुर जमिन र हालको प्रशासकीय भवन फिर्ता गर्न सफल भएको । 
    कालो सूचीमा परि वर्षौँदेखि बन्द अवस्थामा भएको नारायणी डेभलपमेन्ट बैंक अधिकांश भाग खाली गराई त्यहाँ ल्याब चलाउन सफल भईयो । 
    टिकट काउन्टरहरूलाई जनरल र बिमा भनी नछुट्याई एकिकृत गरिएको । 
    ओ.पि.डि. मा टोकन प्रणाली लागू गरिएको । 
    इमरजेन्सीलाई केही सुधार गरि रेड, ग्रीन, एल्लो जोनमा वर्गीकरण गरिएको । 
  Neonatal Care को लागि छुट्टै नर्सको व्यवस्था सुरुवात गरिएको । 
   अपरेशन कक्षमा ५ वटा बेडको व्यवस्था गरिएको । 
    महानगरपालिकासँग ११ लाख रकम अनुदान लिई अस्पतालको अग्रभागमा मोजाक टाइलिङ गरिएको । 
    ओ.पि.डि. मा सोधपुछ कक्ष सञ्चालन गरिएको । 
    २०७५ फागुन ३ गते मन्त्रीपरिषद्बाट भरतपुर अस्पताललाई स्तरोन्नति गरी सङ्घीय रेफरल अस्पताल बनाइएको । 
    प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा रु. ५० लाखको जेनेरेटर मेशिन खरिद गरिएको । 
    बिरामी कुरुवा घरको निर्माण कार्य सुरु भएको । 
    बिरामी र सेवाग्राहीको सुविधाको लागि केही डिजिटल र लेखन प्रविधिबाट सूचनाहरू ठाउँ–ठाउँमा टाँस गरिएको ।
     Friends of Bharatpur Hospital गठन गरिएको । 
    सूचना प्रवाहको लागि मासिक बुलेटिन प्रकाशित गर्ने प्रचलन सुरु गरेको ।

आशाको केन्द्र भरतपुर अस्पताल 

नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय  अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लम्जुङ, रुपन्देहीसहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् 

Last modified on 2021-09-18 08:32:33

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts