मृत्युपश्चात् अङ्ग दान गर्नेका परिवारलाई दुई लाख
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ।
यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु एक लाख थप गरी रु दुई लाख उपलब्ध गराउने निर्णय गर्नुभएको हो।
अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको रु ५० हजारमा मन्त्रालयले रु २५ हजार थप गरेर रु ७५ हजार पुर्याएको छ। उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरिसक्नुभएको छ। देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका केन्द्रले जनाएको छ।
विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अङ्ग दान गर्न पाउँदैनन्। मृत्युपश्चात् भने अङ्ग दान गर्न पाउने व्यवस्था छ। मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरू जीवित व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ।
सरकारले मानव अङ्ग प्रत्यारोपण नियमावली, २०७३ जारी गरी मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिको अङ्ग झिकी जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सक्ने व्यवस्था गरेको छ।