बगैँचामा रमाउने डाक्टर (फोटो फिचर)
प्राय बिहान उठ्ना साथ चिकित्सकहरु के गर्छन् ? सायद सबैको बुझाई एउटै हुन्छ, महंगा क्लिनिक, अस्पताल वा नर्सिङ होममा बिरामी जाँच्न पुग्ने । साँझ बिहान अलिकति फुर्सद हुनासाथ क्लिनिक पुग्न हतारिने डाक्टरहरुको भीडमा अलि फरक मोहका छन् पबन शर्मा । पाटन अस्पतालका निर्देशकसमेत रहेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पबन शर्मा एकाबिहानै कुटो, कोदालो बोकेर करेसाबारी चाहार्छन् । बिहानको नित्यकर्म सकेलगत्तै आधा घण्टा करेसाबारीमा बित्छ डा. पबन शर्माको । अरु मानिस मेडिटेसन जान्छन् तर यिनको मेडिटेसन भनेकै करेसाबारीका तरकारी र फलफूलसँगको प्रेम हो ।
राजधानीको डिल्लीबजारमा जन्मिएका डा. शर्मा हाल ललितपुरको कुसुन्तिमा बस्छन् । प्रत्येक दिन करेसाबारीमा तरकारी तथा फलफूलको गोडमेल गर्ने, बिरुवा हेर्ने, पानी हाल्ने काम सकेपछिमात्र कार्यालय जान्छन् शर्मा । साँझ घर फर्केपछिको व्यस्थता पनि करेसाबारी मै हुन्छ डा. शर्माको । शर्मालाई बजारमा कुन लुगा र कुन मोबाइल आयो भन्ने भन्दा पनि नर्सरीमा कस्ता बिरुवा आए भन्नेमै चासो हुन्छ । नयाँ बिरुवा खोज्न, रोप्न र हुर्काउन सँधै लालायित हुने यी डाक्टर बिरुवाको खोजीमा काठमाण्डौंका सबैजसो नर्सरीमा चाहारीसकेका छन् । यति हुँदा हुँदै पनि यी बिरुवाप्रेमी डाक्टरको घरैसम्म नयाँ फलफूल र तरकारीको बिरुवा पुर्याउन आउँछन् बिरामी । शर्माको बिरुवाप्रेम देखेर कतिपय नर्सरीले बिरुवा खोज्दै हिड्ने पाटनको डाक्टर भनेर चिन्छन् ।
नर्सरीबाट बिरुवा जम्मा गर्दागर्दै डाक्टर शर्माले आफ्नै करेसाबारी नर्सरी भन्दा ठुलो भएको पत्तै पाएनन् ।
‘यहाँ वरीपरी हिँड्ने मान्छेले नर्सरी रहेछ, फोटो खिच्न मिल्छ ? एकचोटी गेट खोल्दिनुस न भन्दै आउन थाले तब पो पत्तो भयो ।’ उनी भन्छन् ।
डाक्टर शर्माको करेसाबारीमा ४२ थरिका त गुलाब मात्रै छन् । सायद काठमाण्डौंका व्यवसाययिक नर्सरीमासमेत यति धेरै थरिका गुलाब छैनन् होला ।
‘जब फूल फुल्छ अनि म पनि हाँस्छु’ डाक्टर शर्मा मुस्कुराउँदै भन्छन्, ‘मलाई लाग्छ यी फूलहरु पनि सँगै मुस्कुराइरहेका छन्, हाँसिरहेका छन् ।’
उनले अझै आफ्नो बँगैचा प्रेमलाई यसरी व्यक्त गरे, ‘हप्तामा एकदिन मलाई कसैले नखोजे हुन्थ्यो जस्तो लाग्छ । बिदाको दिन पूरै समय करेसाबारी र बगैँचा मै रमाउन पाए हुन्थ्यो जस्तो लाग्छ ।’ धेरै प्रजातिका फलफूल र तरकारी आफ्नै माटोमा फलाएका शर्मा भन्छन् ‘किनेर खानु भन्दा आफ्नै करेसाबारीबाट टिपेर खाँदा वेग्लै आनन्द आउछ ।’
यतिबेला उनको करेसाबारीमा आरुबखाडा, हलुवावेद, भोगटे, अंगुर, कागती, आरु, नास्पाती लटरम्म फलिरहेका छन् । त्यस्तै सुन्तला, स्याउ पनि आफ्नै करेसा बारीमा फलिसकेका छन् । टमाटर, लौका, फर्सी, करेला, काँक्रोका लहरा पनि झाल चड्ने तयारीमा छन् । उनको बगैँचामा समी, अमला, पारिजात लयागतका बिरुवा समेत रहेको छ । यी बाहेक पनि थुप्रै फलफूल र तरकारीले करेसाबारी झाँगिरहेका छन् । उनको घर पुग्दा यस्तो लाग्छ यहाँ के छैन ?
सायद धेरैलाई लाग्न सक्छ डा. शर्मालले शोखको रुपमा मात्र तरकारी र फलफूलको खेती गरेको भनेर । तर यी डाक्टर बच्चैदेखि किस्मतिला रहेछन् ।
करेसाबारी तथा बगंैचाको सोख कहिलेदेखि हो भन्ने हाम्रो प्रश्न खस्न नपाउँदै शर्माले हाँस्दै भने, ‘सानो छँदा छिमेकी र आफन्तको घरबाट बिरुवा चोरेर ल्याएर समेत रोप्थें ।’
सानो उमेरदेखिकैै बिरुवाप्रतिको लगावले डाक्टर शर्माको घर सँधै उज्यालो, हरियाली र ढकमक्क छ । यो सबै सुन्दरतालाई सम्भव बनाउन डाक्टर शर्माले भान्सा तथा बाथरुमबाट निस्कने पानी जम्मा गर्ने र कम्पोष्ट मल बनाउने समेतको तयारी गरेका थिए । त्यसैको सिँचाइले लहलह भएको शर्माको बँगैचा सजाउन उनको अलावा ७२ वर्षीया आमा, श्रीमती र छोराछोरीले पनि कम्ति मेहेनत गरेका छैनन् ।
Real story.Some flowers in my garden Are from hid garden I do have 16 types of roses
He is great doctor