असीम मायाको वेगसँगै अघि बढेका शालीन डाक्टर दम्पती
एकाबिहानै हाम्रो डाक्टर टिम पत्रिकाको नियमित स्तम्भ हाम्रो डाक्टर कपलको अन्तर्वार्ताका लागि उनीहरूको घर पुग्दा ती शालीन दम्पती अन्तर्वार्ताका लागि तयारी अवस्थामा कुरिरहेका रहेछन् ।
डा. जगदीशप्रसाद अग्रवाल । इन्टरनल मेडिसिन प्राध्यापक एवम् वरिष्ठ नशा रोग विशेषज्ञ । हाल आईओएम डीन हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा सेवा गरेको २५ वर्ष पूरा भइसकेको छ । श्रीमती डा. ज्योति अग्रवाल वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले पनि चिकित्सा पेसामा झन्डै तीन दशक समर्पित गरिसकेकी छन् ।
अग्रवाल दम्पतीनिवासमा भएको भलाकुसारीपछि ती अग्रवाल दम्पतीको विवाहको प्रसगंबारे जिज्ञासा राख्दै गर्दा उनीहरू पनि बडो रमाइलोपारामा मीठो विगत खोतल्दै गए । ‘जोडी त माथिबाटै जुरेको हुन्छ, नत्र हेर्नोस् न, कसले पत्याउँछ एउटा पत्रिकामा छापिएको विज्ञापनले यति राम्रो सम्बन्ध स्थापित गराउँछ भन्ने ?’
पत्रिकाको वान्टेड विज्ञापन सजाएर राखिएको एउटा फ्रेमतिर हातका औँला लम्काउँदै भने, ‘अहिले त यो इतिहास भइसक्यो, वर्षाैंसम्म एक–अर्कालाई बुझेर जीवनसाथी रोज्ने जमानामा विज्ञापनले जोडी जुराइदियो । यो हाम्रो के हो माथिबाटै तोकिएको भन्दा फरक पर्ला त ?
छेउमा डा. ज्योति लजालुपारामा मुस्कुराउँदै हेरिरहेकी थिइन् । ‘यसको श्रेय सबै उनलाई नै जान्छ । उनले हाम्रो सम्बन्धसँग जोडिएका मीठा विषयलाई यति प्रिय ढंगले सम्हालेर राखेकी छन् कि यसो खाली समयमा हेर्दा जवानीको याद ताजा हुन्छ,’ घरमा सजाएर राखिएका विज्ञापनदेखि विवाहका कार्डतिर केन्द्रित गराउँदै डा. जगदीशले ज्योतिलाई जिस्क्याउँदै भने ।
प्रसंग विज्ञापनले जुराएको सम्बन्धको
एक समय यस्तो थियो, जतिबेला डा. जगदीश अग्रवाल कोलम्बो प्लानबाट एमबीबीएस पूरा गरी त्यहीँको छात्रवृत्ति पाएर जयपुरको एसएमएस मेडिकल कलेजमा इन्टरनल मेडिसिनमा एमडी गर्दै थिए । त्यो बेला घरपरिवारबाट पनि बिहे गर्नुपर्ने कुरा चलिरहेको र आफ्नै जातको डाक्टर पढेको केटी पाएमा बिहे गर्ने सोचमा थिए डा. जगदीश । एक दिन राजस्थान दैनिक पत्रिकामा सुयोग्य वर(बेहुला) को खोजीमा उदयपुरको एकजना केटीको परिवारले गरेको विज्ञापन पढे ।
त्यो बेला राम्रो केटाको खोजीमा वैवाहिक विज्ञापन स्थानीय पत्रिकामा छपाउने चलन रहेछ । विज्ञापन हेर्दा चिकित्सक त्यसमाथि पनि अग्रवाल परिवारकै छोरी भएकाले आफ्ना लागि फिट हुन्छिन् कि भन्ठानेर परिवारको सल्लाहविना नै आफ्नो दाइको नामबाट डा. जगदीशले आफ्नो बायोडाटासहित पत्र पठाए । नभन्दै केटी पक्षबाट उक्त पत्रको सकारात्कम प्रतिक्रिया आयो ।
बायोडाटाका आधारमा डा. जगदीशलाई हेर्न डा. ज्योतिको परिवार सकारात्मक देखिएपछि उनले तत्काल घरमा जानकारी गराएर केटी हेर्न बोलाए ।
त्योबीचमा डा. जगदीशले ज्योति कस्ती रहेछिन् भनेर हेर्ने सोचले एक साथीलाई ज्योति कार्यरत अस्पतालमा उनको बारेमा बुझ्न लगाएछन् । साथीमार्फत ज्यातिको बारेमा जानकारी पाएपछि माइतीपक्षबाट थाहा नपाउनेगरी उदयपुरको जयपुरबाट उदयपुर पुग्न रात्रिबस चढेर करिब आठ÷नौ घन्टाको यात्रा गर्दै अस्पतालमा राउन्ड गर्दै रहेको अवस्थामा भेट्न भनेर उदयपुरतिर गएँ ।
तर उनी निस्किसकेकी रछिछन् । भारतमा आइतवार छुट्टी हुने भएकाले ज्योति आफ्नो राउन्ड सकेर निस्किसकेकी हुनाले जगदीशको ज्योतिलाई भेट्ने योजना ऊबेला केवल योजनामै सीमित रह्यो ।
पछि ज्योतिको साथीले उनलाई हेर्न अस्पतालसम्म पुगेको थाहा पाएपछि परिवारिक सल्लाहअनुसार नै उनीहरूको भेटघाट भयो । राजस्थानको उदयपुरमा रहेका ज्योतिका परिवारले डा. जगदीशलाई हेर्नसाथ मन पराए ।
एक त चिकित्सक, त्यसमाथि पनि अग्रवाल परिवारको छोरा । दाइजोप्रथालाई राम्रो नमान्ने दुवै परिवारको संस्कारले डा. जगदीशले ज्योतिको परिवारको मन एकैपटक जित्न सफल भए ।
डा. जगदीशले वैवाहिक प्रसंगबारे थप्दै भने, ‘म समान्य साधारण परिवारको मान्छे हुँ । हाम्रो धेरै आकांक्षा थिएन । आफूलाई सुहाउने र आफ्नै अग्रवाल समाजको केटा र केटी खोजेका थियौं । आफूले खोजेजस्तै केटी जीवनसाथीका रूपमा पाउँदा ममात्र होइन, मेरो परिवार पनि निकै खुसी थियो ।’
डा. जगदीशलाई हेर्नुपूर्व ज्योतिको परिवारले उनका लागि योग्य वर नरोजेका भने होइनन् । त्यसअघि डा. ज्योतिको परिवारले विज्ञापन दिएपछि जयपुरकै अर्थोपेडिक चिकित्सकसँग लगभग विवाह हुने पक्कापक्कीजस्तै भइसकेको थियो । जतिबेला विवाहबारेमा पक्कापक्की गरेर केटा पक्ष घर पर्किए, त्यसको केही दिनमा दाइजो मागेर लिस्ट पठाएपछि डा. ज्योतिले ती चिकित्सकसँग विवाह गर्न इन्कार गरेकी थिइन् ।
तिनले दाइजोको डिमान्ड नगरेको भए म सायद यतिबेला नेपालमा हुने थिइन होला । डा. ज्योतिको कुरा टुंगिन नपाउँदै रमाइलोपारामा डा. जगदीशले भने, ‘त्यही भएर त जोडी माथिबाटै जुरेको हुन्छ भन्या नि । तिमी मेरी हुनु थियो । दाइजो त बहाना पो भयो ।’
केटाकेटीको देखभेटपछि दुवै पक्षबाट सहमति भएपछि जयपुरमै दुवैको इंगेजमेन्ट भयो । विवाह भने केटी पक्ष नेपाल आएर केटा पक्षको गृहजिल्ला विराटनगरमा आएर डा. ज्योतिको बिवाह गरिदिए । विराटनगरको रंगेली घर भएका डा. जगदीश र डा. ज्योति सन् १९८८ मा मारवाडी परम्पराअनुसार विराटनगरबाट विधिवत रूपमा विवाहबन्धनमा बाँधिए ।
प्रोफेसनल करिअरको सुरुवात
विवाह भएको एक वर्षपछि डा. जगदीशको एमडी अध्ययन पूरा भयो । नेपाल फर्किनसाथ सन् १९९० को जनवरीदेखि डा. जगदीशशले सहायक प्राध्यापकका रूपमा उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काम सुरु गरे । मिहिनेत र लगनशीलतालाई सधैं आत्मसात् गर्दै अघि बढेका जगदीशले हरेक पाँच वर्षमा बढुवा हँुदै उपप्राध्यापक, प्राध्यापक हँुदै हाल डीनका रूपमा कार्यरत छन् । त्रिवि शिक्षण अस्पतालमा काम गरेको पनि २५ वर्ष पूरा भइसकेको छ ।
डा. ज्योतिले पनि नेपाल आउनसाथ प्राइभेट अस्पतालबाट आफ्नो चिकित्सा सेवा सुरु गरिन् । ज्ञानेश्वरस्थित हिमाल अस्पतालबाट सेवा दिन सुरु गरेकी ज्योतिले १९ वर्ष सो अस्पतालबाट सेवा दिइन् भने असन र चाबहिलको आफ्नै क्लिनकिबाट सेवा दिएको २५ वर्ष बितिसकेको छ ।
भाषाको समस्या बाबजुत पनि सेवा निरन्तरता
डा. ज्योति भारतीय नागरिक भएकाले उनको मातृभाषा हिन्दी हुनु स्वाभाविकै हो । त्यसमाथि पनि मारवाडी परिवारकी छोरी भएकाले हिन्दीबाहेक उनले प्रयोग गर्ने भाषा मारवाडी नै हुने गथ्र्यो । तर, जब उनले नेपाली केटासँग विवाह गरेर नेपाल आइन्, त्यो समयमा उनी नेपालीमात्र होइन, नेपालको बारेमा पनि उनलाई केही जानकारी थिएन ।
नेपाल आउनसाथ चिकित्सा पेसामा काम सुरु गरिहालेकी ज्योतिलाई भाषिक समस्याका कारण उपचार सेवामा कति कठिन भयो त ? जवाफमा ज्योतिले भनिन्, ‘मसँग सिक्न सक्ने प्रशस्त इच्छाशक्ति थियो र छ पनि । त्यसैले काम गर्नेक्रममा नर्सिङ स्टाफ र अन्य समयमा पत्रपत्रिका पढेर छोटो समयमै मैले भाषा राम्रो बनाउन सफल भएँ ।
छेउमा बसेर कुरा सुनिरहेका डा. अग्रवालले थपे, ‘अहिले उनलाई मभन्दा बढी नेपाली भाषाको ज्ञान छ । उनीसँग भएको सिक्ने तत्परता र लगनशीलताले नेपाली भाषामा मात्र होइन, जे कुरामा पनि छिट्टै पोख्त हुन्छिन् ।’
एक प्राइभेट प्राक्टिसकै, अर्का सरकारी सेवामै समर्पित
डा. अग्रवाल दम्पती दुवै सफल चिकित्सकका रूपमा परिचित छन् । दुवैले जीवनको महत्वपूर्ण कालखण्ड चिकित्सा पेसामा बिताए पनि यी दुवैको एक भिन्नता छ । डा. जगदीशले आफ्नो झन्डै तीन दशक चिकित्सा पेसाको यात्रामा कहिल्यै निजी प्राक्टिसलाई रोजेनन् अझ भनौं निजी प्राक्टिस गरांै, पैसा कमाऊँ भन्नेतिर सोच नै बनाएनन् । निरन्तर सरकारी सेवामा कार्यरत रहे भने डा. ज्योतिले सोहीको हाराहारीमा निजी प्राक्टिसमा बिताएकी छन् ।
चार/चार वर्षको अन्तरमा तीन सन्तान
विवाहबन्धनमा बाँधिएको करिब डेढ वर्षपछि अग्रवाल परिवारमा नयाँ सदस्यका रूपमा छोरीको जन्म भयो । त्यसपछि हरेक चार वर्षको अन्तरमा अग्रवाल दम्पतीका तीन सन्तानको जन्म भयो । सन्तानले आमाबाबुको हाँस्ने बाटो खुलाउँछन् भन्ने तीन सन्तानले पुष्टि गरिदिएको डा. अग्रवाल दम्पतीको बुझाइ छ । उनीहरूको कुशल संस्कारका कारण पनि होला, अहिलेसम्म सन्तानका कारण केही कुरामा दुःखी हुनु नपरेको उनीहरू बताउँछन् ।
तिनै पहिलो सन्तानका रूपमा जन्मिएकी छोरी अदिती अहिले परिवारको खानदानी पेसा अर्थात् चिकित्सा पेसा डाक्टर अध्ययन गर्दै छिन् भने कान्छी छोरी दिव्या दिल्लीमा इन्जिनियरिङ अध्ययन गर्दै छिन् । छोरा देवान्स रातो बंगलामा स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै छन् ।
सन्तुष्टि नै सुखमय दाम्पत्यको महत्वपूर्ण सूत्र
चाहे सम्बन्ध होस् या पेसा, रमाउन सकिएन या जानिएन भने त्यसले निराशा र असन्तुष्टि पैदा गर्ने गर्छ । त्यसैले आफूसँग जे छ, आफले जे गरिन्छ, आफूसँग भएका कुरामा सन्तुष्ट हुन सके जिन्दगीमा खुसीका खुड्किला आफैं थपिँदै जाने डा. दम्पती बताउँछन् ।
हामीले कहिल्यै आफ्नो जीवनलाई जबरजस्ती व्यस्त बनाएनौं । डा. अग्रवाल भन्छन्, ‘हामीले समयलाई आफ्नो प्राथमिकताअनुसार हाम्रो समयलाई सहि तरिकाले व्यवस्थापन गर्न सकेकै कारण आज हामी आफ्नो पारिवारिक जीवनमा एकदमै खुसी एवम् सन्तुष्टि छांै ।’
उनीहरू वर्षको एकपटक सपरिवार घुमघामका लागि जाने गर्छन् । अनुकूलताका आधारमा वर्षमा एक÷दुईपटक नेपालका विभिन्न सहरमा घुम्न पछि नपर्ने बताउँछन् । सुखमय जिन्दगीका लागि सबैभन्दा महत्वपूर्ण कुरा प्राथमिकताको विषयमा स्पष्ट हुनु पनि एक सूत्र मान्छु है म त । हाम्रो प्राथमिकता के हो, स्पष्ट हुन सकिएन भने जिन्दगी अस्तव्यस्त बन्छ । जुन खुसीको ठूलो बाधक हो डा. ज्योति भन्छिन् ।
दुवैजना निश्चित समयसम्म आ—आफ्नो काममा व्यस्त हुन्छन् तर पनि उनीहरूको परिवार निकै रमाइलो छ । कारण निजीमा भए पनि ज्योति बिहान साँझ काम गरेर समयमै घर फर्किन्छिन् भने डा. जगदीश प्रायः पाँच बजेपछि घर फर्किएकै हुन्छन् ।
हाम्रो करिअरमा एक–अर्काको ठूलो सहयोग छ । दुवैबीच आपसमा विश्वास र सहयोग छ । त्यसैले हामी दुवैले आ–आफ्नो करिअरमा सफलता हासिल गर्दै खुसाल परिवारिक जिवन बिताइरहेका छौं,’ अग्रवाल दम्पती भन्छन् ।
एक–अर्काको नजरमा
डा. जगदिशलाई डा. ज्योतिका मनपर्ने कुरा
- सबैको ख्याल राख्ने, कामप्रति समर्पण र समयको महत्व बुझ्ने बानी
- परिवारमा सबैलाई खुसी राख्ने गुण छ, दयालु भावना ।
- सबै कुरालाई कुशल व्यवस्थापन गर्ने, कुल छिन् ।
- पारिवारिक जमघट या घुमघाममा निस्कनुपर्ने भए सबै योजना उनकै जिम्मामा हुन्छ ।
- बुधवार सधंै मलाई मुभी हेर्न लैजान्छिन्् ।
- आफ्नो र परिवारको स्वास्थ्यप्रति निकै सचेत छिन् ।
- आर्थिक रूपमा पनि निकै सपोर्ट छ ।
डा. जगदिशलाई डा. ज्योतिका मन नपर्ने कुरा
- कहिलेकाहीं आफूले राम्रै भने पनि त्यसको गलत अर्थ लगाउने ।
- आफूले सोचेकै ठीक हो भन्ने बानी छ ।
- घुमघाम र मनोरञ्जनमा धेरै रुचि ।
- ज्योतिमा कहिलेकाहीं तनाव लिने बानी ।
डा. ज्योतिलाई डा. जगदिशका मनपर्ने कुरा
- धूमपान र मद्यपान केही गर्नुहुन्न, राम्रो आनीबानी भएको मान्छे ।
- सादा जीवन उच्च विचारको धनी ।
- लोभलालच छैन । पैसाका लागि मरिमेट्ने बानी छैन ।
- मेरो निजी मामिला होस् या अन्य विषयमा हस्तक्षेप गर्नुहुन्न ।
- सकारात्मक सोचको धनी, सहयोगी तथा मायालु व्यवहार देखाउने ।
डा. ज्योतिलाई डा. जगदिशका मन नपर्ने कुरा
- उहाँलाई खानामा रुचि छैन । जे मन पर्छ त्यहीमात्र खाने ।
- फेसनमा रुचि छैन, नयाँ कपडा ट्र«ाइ गरौं भन्ने छैन ।
- बच्चाका लागि केही योजना बनाउनुपर्दा म आफैं अघि सर्नुपर्छ । उहाँबाट केही योजना बन्दैन । हाम्रो डक्टर मासिकबाट
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>