डेन्टल सर्जन डा. बुद्धिमानले गाए रेलले तान्यो र, केकी र बले नाचे छमछमी (भिडियोसहित)



Download our app to get more features

काठमाडौं, १६ फागुन । हिजोआज डेन्टल सर्जन एवं कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठलाई बेग्लै भ्यानभ्याइ छ । सँधैजसो मेडिकल कलेज, दाँत तथा मुख स्वास्थ्य र कान्तिपुर डेन्टल कलेजको व्यवस्थापनमा दौडधूप गर्ने श्रेष्ठ अचेल आफुले गाएको गीतको प्रचारमा भेटिन्छन् । 

शुक्रवारमात्र उनले सो गीतको लोकार्पण गराएका छन् । नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी लगायतको उपस्थितिमा शुक्रवार श्रेष्ठद्वारा गाइएको गीत रेलले तान्यो र बोलको गीत सार्वजनिक भएको हो । डा. श्रेष्ठ र गायिका मेलिना राईले गाएको गीतको शब्द संकलन र संगीत बादल घिमिरेले गरेका हुन् । चिकित्सा कर्म र व्यवसायमा संलग्न डा. श्रेष्ठले गीत लोकापर्ण कार्यक्रममा आफ्नो गायकीको सोखका बारेमा बोले । उनले भने, 'मैले स्कूल पढ्दाताका कार्यक्रमहरुमो गीत गाउँथे र मेरो गीतसंगीतमा गहिरो झुकाव छ । तर, व्यवसायिक रुपमा गीत रेकर्ड गराएको भने थिइनँ । यो पहिलो प्रयासलाई लिएर सबैको सुझाव आवश्यक छ ।' आफुलाई गीत गाउन थुप्रै शुभचिन्तकहरुले प्रेरणा दिएको श्रेष्ठको भनाइ छ । 

सो गीतको लय स्यांग्जाबाट संकलन गरिएको संकलक बादल घिमिरेले बताए । स्यांग्जामा गाइने गीतको भाका प्रयोग गरिएको भन्दै घिमिरेले यसले स्थानीय मौलिकताको पनि प्रतिनिधित्व गरेको बताए । सो गीतमा कृष्ण भान्जाको म्युजिक एरेन्जमेण्ट रहेको छ भने श्यावस्वेत रसाइलीले मिक्सिंग गरेका छन् । 

डा. श्रेष्ठ र राईले गाएको लोकआधुनिक लयको युगल गीतको म्युजिक भिडियो पनि बनाइएको छ । सो भिडियोमा चर्चित कलाकार सागर लम्सार बले र नायिका केकी अधिकारीले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । 

गीत लोकापर्ण कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा लगायतले गीतका बारेमा बोलेका थिए । उनीहरुले अन्य पेशाकर्मीहरुले पनि लोक तथा मौलिक गीतहरुलाई माया गर्नु र गीत संग्रह गर्नु सुखद भएको प्रतिक्रिया दिए । 

हेरौं भिडियो

Last modified on 2020-02-28 20:18:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts