सरकारले व्यापारीलाई प्रोत्साहन गर्यो तर औषधि उद्यमीलाई पन्छायो
औषधि उत्पादनमा नेपालको इतिहास लामो भएपनि यस क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका योजनाहरू भने व्यवस्थित हुन सकेका छैनन् ।
लगानीयोग्य वातावरणको अभावमा काम गर्न असहज भएको औषधि उद्योगीले गुनासो गर्दै आएका छन् । नियन्त्रणमा आधारित सरकारी नीतिले आफुहरूको उत्पादनलाई प्रोत्साहन गर्न नसकेको उनीहरूको गुनासो छ । करिब २५ अर्बको लगानी भइसक्दा पनि नेपालमा सञ्चालित औषधि उद्योगले अन्तर्राष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्न सकेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको उपस्थित र प्रतिश्पर्धा गर्ने वातावरण कसरी बनाउन सकिन्छ भनेर हाम्रो डाक्टरले नेपाल उद्योग परिसंघका अध्यक्ष एवं देउराली जनता फर्मास्युटिकल्स प्रालिका सञ्चालक हरिभक्त शर्मासँग कुराकानी गरेको छ । प्रस्तुत छ शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश ।
पछिल्लो समय नेपाली औषधि उत्पादनको अवस्था कस्तो छ ?
वास्तवमाभन्ने हो भने नेपाल औषधि उत्पादनको क्षेत्रमा ‘टेक अफ’ अर्थात उठ्ने चरणमा पुगेको छ । किनकी नेपालमा ४०/५० वटा उद्योगले औषधि उत्पादन गरिरहेका छन् । ती उद्योगले नेपाललाई नभई नहुने औषधि दिइरहेका छन् । सरकारले नीतिगत सुधार गर्न सकेमा यस क्षेत्रमा अर्को चरणको लगानी हुनेछ । त्यसले नेपालमा थप प्रविधि भित्राउन पनि सहयोग गर्छ । र, यहाँ उत्पादित औषधिले अन्तर्राष्ट्रिय बजार पाउनपनि सहयोग मिल्छ । त्यसका लागि सरकारी नीतिहरूपरिवर्तन गर्न जरुरी छ । नीति परिर्वतनका लागि हामीले पनि वातावरण बनाउन आवश्यक छ । अर्थात सरकारलाई घच्घच्याउन पनि जरुरी छ । त्यसो गर्न सकिएयो क्षेत्रमा हामीले धेरै राम्रो काम गर्न सक्छौं । संसारका मै हुँ भन्ने उद्योगका औषधिसँग हामीप्रतिश्पर्धा गर्न सक्छौं । त्यसैले औषधिको गुणस्तरमा सम्झौता नगरी नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्ने क्षमता विस्तार भइसकेको हो ।
यसका लागि सरकारले उचित वातावरण बनाउनु पर्छ । गुणस्तरमा हामी खरो उत्रिसकेका छौं । हामीले उत्पादन गरेकाऔषधि संसारका नाम चलेका कम्पनीका उत्पादन भन्दा कम गुणस्तरीय छैनन । यो अन्तर्राष्ट्रिय स्तरमै पुष्टि पनि भइसकेको छ । तर, सरकारी सहयोग नपाउँदा हाम्रो औषधिलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकेका छैनौ । सरकारले हाम्रा उत्पादनलाई प्रवद्र्धन गर्नुको साटो नियन्त्रण गर्नेनीति नियम बनाइरहेको छ ।
नेपाली औषधि उद्योगमा अहिलेको लगानीको अवस्था कस्तो छ ?
लगानीको अवस्था पनि राम्रो छ । २०/२५ अर्बको लगानी छ र त्यस्तैको हाराहारीमा कारोबार पनि भइरहेको छ । नेपाल सरहका अन्य मुलुकको दाँजोमा यहाँ धेरै लगानी भएको छ । दुई करोड ५० लाख जनता बसोबास गर्ने मुलुकमा ५० वटा उद्योग चल्नु भनेको लगानी राम्रो हुनु हो । जसले नेपाललाई चाहिने सबै औषधि पनि बनाउन सक्ने क्षमता राख्छन् । तर, त्यसका लागि उचित अवसर प्राप्त हुनुपर्छ । उदाहरणका लागि मेरो उद्योगले एक सिफ्टमा ४० देखि ५० प्रतिशत मात्रै उत्पादन गर्न सक्छ । त्यसलाई तीन चार सिफ्ट बनाउन सकेधेरै नै औषधि उत्पादन हुने थियो । त्यसैले अहिले लगानी भइरहेकै ठाउँबाट पनि सहजतापूर्वक काम गर्न सकिन्छ । त्यसकारण लगानीको प्रतिफल लिन सरकारले नै सहयोग गर्नुपर्छ ।
तपार्इंले नेपाली औषधि उत्पादनमा लगानी बढेको बताउनु भयो तर, निश्चित परनिर्भरता उस्तै छ, जस्तो कि अझै ५५ देखि ६० प्रतिशत औषधि आयात गर्नुपर्छ, किन यस्तो?
त्यो स्पष्ट छ । देशको नीति नै यसको बाधक हो । लगानीमैत्री नीति अभावकै कारण यस्तो अवस्था सिर्जना भएको हो । अरू मुलुकमा औषधि उद्योगको लगानी नेपालको राष्ट्रिय बजेट भन्दा १०औं गुणा ठूलो छ । त्यस्ता ठूला उद्योगसँग हामीले प्रतिश्पर्धा गर्न सहज छैन । ठूलो ताकत भएका संसारका सबै औषधि उद्योगले नेपालमा आएर बजार लिइरहँदा सरकारले यहाँका उत्पादनलाई प्रर्वद्धन गर्नु पथ्र्यो । त्यसो हुन सकेको छैन । सरकारका सबै नीति नेपाली उत्पादनलाई नियन्त्रण मात्रै गर्नेखालका छन् । कसरी परनिर्भरता घट्छ त ? अब बन्ने सरकारले यदी प्रवद्र्धन गर्ने नीति ल्यायो भने हामीले औषधि उत्पादनको क्षेत्रमा फड्को मार्न सक्छौं ।
औषधि उद्योगको लामो इतिहास भैसक्दा पनि लाइफ सेभिङ औषधिहरू किन नेपाली उत्पादकले बनाउन सकेका छैनन् ? आरएण्डडीमा लगानी नपुगेको हो ? जस्तो क्यान्सर लगायतका औषधिहरूमा अझै परनिर्भरता किन ?
विश्व स्वास्थ्य संगठनले अत्यावश्यक औषधि भनेर तोकेका औषधि हामीले उत्पादन गरिरहेका छौं। हामीले बनाएको औषधिले जीवन रक्षा गर्दैन भन्नु गलत हुन्छ । जीवन रक्षाका औषधि धेरै प्रकारका छन् । तपार्इंले भन्नु भएको जस्तै क्यान्सर, मिर्गौला लगायत केही रोगको उपचारमा प्रयोग हुने औषधि हामीले उत्पादन गर्न नसकेको पक्कै हो । त्यस्ता औषधि बनाएपछि हामीलाई बजार पनि चाहिन्छ । जुन हाम्रो देशमा छैन । हामीले अहिले बनाएकै औषधि पनि निकै सस्तोमा बिक्री गरिरहेका छौ । सात सय प्रतिव्यक्ति आय भएको मुलुकमा एक रूपैयाँमा पारासिटामोल बिक्री गर्न हामीलाई सरकारले नै बाध्य बनाएको छ ।
जवकी संसारको सबैभन्दा सस्तो औषधि बजार भारतमा छ । तर पनि त्यहाँ पारासिटामोललाई एक रूपैयाँ ६५ पैसा पर्छ । नेपालमा औषधि उद्योगलाई यति धेरै खुम्चायौैं की जहाँ लगानी गर्ने मुस्किल छ । सरकारमा रहेका केही व्यक्ति नेपालीलाई सँधै गरिब नै बनाउनु पर्छ भन्ने मानसिकताका छन् र उनीहरू सोही हिसाबले नीति बनाइरहेका छन् । नेपालको आयात नीति र समग्र नीति नै परिमार्जन गर्न नसकेकाले हाम्रो क्षमता भएर पनि सोचेअनुरूपको काम गर्न सकेका छैनौं या भनांै हामीले फड्को मार्न सकेका छैन।
तपाईं उद्योग परिसंघको अध्यक्ष र औषधि उत्पादक पनि हुनुहुन्छ । औषधि उद्योगको प्रवद्र्धनमा हालसम्म के के गर्नुभयो त ?
देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक दुई थरीका औषधि बनाएको थियो । त्यसयताहामीले नेपाललाई चाहिने औषधिहरू बनाइरहेका छौं ।लगानी पनि वृद्धि गरिरहेका छौं । नेपाल सरकारसँग भएको भन्दा बढी प्राविधिक जनशक्ति हाम्रो उद्योगमा छ । औषधि उत्पादनको विषयमा अध्ययन हासिल गरेकाहरूलाई काम गर्ने थलो दिएका छौं ।
संसारका कुनै पनि उद्योगसँग हामी काम गर्न सक्छौं । त्यसका कारण प्रविधि आयातको दृष्टिकोणले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानमा छौं । यदी अझै राम्रो वातावरण पाएको भए यसमा धेरै प्रगति हुने थियो । हाम्रो व्यवसायीक उर्जा राम्ररी प्रयोग हुन पाएको छैन
औषधि उद्योगले जहिले पनि राज्यले राम्रो वातावरण बनाएन भनेको मात्रै सुनिन्छ । कस्तो वातावरण खोजेको हो तपाईंहरूले ?
नेपालमा उद्योगलाई अलगै राखेर सञ्चालन गर्न मिल्ने क्षेत्र नै छैन । सरकारले यहाँ उद्योगकलकारखाना चलाउ भनेर हामीलाई छुट्टै क्षेत्र दिनुपर्छ । जो अरू मुलुकमा छ । हामी आफैले त्यो जग्गा किनेर उद्योग सञ्चालन गर्न धेरै गाह्रो छ । सुरूमै लगानी गर्न यहाँ मंहगो छ । देउराली जनता जग्गाकै कारण अमेरिका भन्दा २० गुणा मंहगो लगानी गरेर उद्योग चलाउन बाध्य भयो । अमेरिकामा देउराली जनता स्थापनागरेको भए २० भागको एक भाग मात्र जग्गामा लगानी हुने थियो । सुरूमै जग्गामा फसेपछि अरू काम सम्पन्न गर्न नै मुस्किल पर्छ । राजनीतिक दलका नेताहरूको दायित्व अब बढेको छ । सरकारले तीन चार हजार बिघा क्षेत्रमा ठूलाठूला औधोगिक क्षेत्र बनाउनु पर्यो । उच्चस्तरको बाटो निर्माण गर्नु पर्यो । उच्चस्तरको विद्युत सेवा उपलब्ध गराउनु पर्यो ।
कानुनी अस्पष्टता र चुस्त नियमन नहुँदा तपाईंहरू (औषधि उद्योगीहरू)ले कमसल औषधि बनाउने गर्नुहुन्छ भन्ने आरोप पनि छ नि ?
त्यही त विडम्बना छ । दुःखजिलो गरेर हामी अघि बढ्ने फेरी आरोप पनि खेप्नु पर्ने अवस्था छ नेपालमा । हाम्रा उत्पादनको गुणस्तरमा कसैले पनि चुनौती दिन सक्दैन । आएर परीक्षण गरे हुन्छ । परीक्षण नै नगरी ठगेर खाएका छन् भन्ने आरोप लगाइन्छ । संसारभरी उद्योगमा लगानी गर्दा धेरै लामो सोचका साथ गरिन्छ । अन्य मुलुकमा औषधि उद्योगीलाई धेरै सम्मान गरिन्छ । विदेशबाट सिधै औषधि ल्याएर बिक्री गर्नु र नेपालमै बनाएर बिक्री गर्नुमा आकाशपातालको फरक छ । यी दुई काम नितान्त फरक काम हुन् । तर हाम्रो सरकारले समेत त्यो बुझेन । हामीलाई एउटै बास्केटमा हालेर हेरियो। सरकारले व्यापारीलाई प्रोत्साहन गर्यो तर औषधि उद्यमीलाई पन्छायो । हामीले पनि जनतालाई पनि बुझाउन सकेनांै । हामीले बुझाउन सकेको भए जनताले पनि बुझ्थँे होला । नेपालमा सबैले राम्रो गरेका छन् पनि म भन्न सकिन्न तर, सबैलाई एउटै रूपमा हेर्न मिल्दैन ।
औषधि व्यवस्था विभाग (डीडीए)को व्यवस्थापन राम्रो नहुँदा नेपालको औषधि क्षेत्रको प्रवद्र्धनमा असहज भएको हो? डीडीएमा तपाईंले देखेका सुधार गर्नुपर्ने कुराहरू के के हुन् ?
डीडीए सुधार गर्नु पर्ने धेरै कुरा देखेको छु । अस्थिर सरकारको प्रभाव यहाँ परेको देखिन्छ । विशेषगरी डीडीएले राम्रा र नराम्रा छुट्याउनसकेको छैन । स्पष्ट नीति निर्माणमा पनि त्यति ध्यान दिएको पाइँदैन । नियमनकारी निकायले निश्पक्ष काम गर्न सक्नुपर्छ । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने काममा यस्ता निकाय अघि बढे मात्रै हामी अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्छौ ।
१० वर्षमा नेपाल औषधिमा आत्मनिर्भर हुन्छ भन्ने गरेको सुनिन्छ के यो साँच्चै हो ?
सतप्रतिशत आत्मनिर्भर हुने कुरा गलत हो । तर, कम्तिमा ८० प्रतिशतसम्म हामी आत्मनिर्भर हुन सक्छांै । यदि सरकार सहयोगी भयो भने त्यो लक्ष्यमा पुग्न १० वर्ष पनि लाग्दैन । हामीमा त्यो क्षमता छ । हामीले अहिलेसम्म गरेको अभ्यासमा प्रश्न उठाउने ठाउँ पनि छैन । तर त्यसमा सरकारको हात पनि चाहिन्छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अब काम गर्ने बेला आएको छ । देश नै संक्रमणकालिन अवस्थामा रहेको बेला एउटा मात्रै क्षेत्रलाई राम्रो गराउन सकिदैन । त्यति हुँदाहुँदै पनि अन्य क्षेत्रको तुलनामा स्वास्थ्य सेवा प्रवाह निकै राम्रो छ र यसबाट नेपालले नाम पनि कमाएको छ । अब नेपालमै जनशक्ति उत्पादन गरी उनीहरूलाई यहीअवसर प्रदान गर्ननिजी क्षेत्रलाई अलि स्वतन्त्रताको खाँचो छ । नयाँसरकारले त्यसमा विचार गर्छ जस्तो लाग्छ । सरकारले सहयोग नगरी औषधि उत्पादनको क्षेत्रमा प्रगती हुनसक्दैन । आगामी १० वर्षसम्म नेपालमा औषधि मात्र उत्पादन गर्ने होइन । यस क्षेत्रको व्यापक अनुसन्धान हुनु जरूरी छ । अध्ययन/अध्यापनलाई पनि सँगसँगै अघि बढाउनु छ । यो ठूलो अवसर पनि हो । त्यो अवसरलाई बुझ्न सरकारी कर्मचारी र अन्य क्षेत्रका उद्यमीलाई पनि आग्रह गर्छु ।
(हाम्रो डक्टर म्यागजिनबाट)