नेपालमा कोरोना महामारीसँगै मानसिक स्वास्थ्यको महामारी पनि बढ्दै छः डा. बराल
नेपाल मात्रै होइन पुरै विश्व नै कोरोना महामारीको चपेटामा रहेको बेला सबै त्रसित बनेका छन् । ठोस उपचार र औषधि नहुँदा कोरोना महामारीबाट जोगिन समस्या भएको बेला खोपले भने थोरै राहत दिने काम गरेको छ । तर, कोरोना महामारीका कारण करौडौं मानिसले रोजगारी गुमाए भने कतिपयलाई पारिपारिक सम्बन्ध बनाउन समस्या निम्त्यिायो । जसलाई नकार्न सकिँदैन ।
नेपाल मात्रै होइन विश्वभर नै कोरोनाका कारण मानिसहरूमा मानसिक समस्या अर्को महामारी जस्तै बन्न थालेको छ । कोरोनाको पहिलो लहरमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन अनुसार कोरोना महामारीका कारण ८० प्रतिशतमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएको थियो । जसमा रोजगारी गुम्नु प्रमुख कारण थियो भने पारिवारिक सम्बन्ध अर्को कारण थियो ।
नेपालमा मानसिक स्वास्थ्यको विषयमा त्यति धेरै छलफल हुने गरेको पाइँदैन । त्यसले गर्दा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू खुलेर समाजमा आउन नसकिरहेको अवस्था सिर्जना भएको पाइन्छ । हामीले मानसिक स्वास्थ्यलाई विशेष रुपमा ध्यान दिन नसक्दा त्यसले विभिन्न जटिल समस्याहरू निम्ताइरहेको छ । नेपालमा मानसिक स्वास्थ्यको अवस्था र उक्त विषयमा सरकारले गरिरहेको कार्यक्रमको बिषयमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्र प्रसाद बरालसँग गरिएको यो कुराकानीको सम्पादित अंश प्रस्तुत गर्दैछौंः
नेपालमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ ?
नेपालमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा चिन्ताजनक नै छ । मलाई लाग्छ अहिले कोभिड महामारीसँगै मानसिक स्वास्थ्यको पनि महामारी छ । नेपालको तथ्याङ्क हेर्ने हो भने कुल जनसङ्ख्याको १० प्रतिशत व्यक्तिहरूलाई मानसिक स्वास्थयको समस्या हुने गरेको देखाएको छ । त्योसँगै हाम्रा अस्पतालमा आउने ५ जना बिरामीहरूमा १ जना व्यक्ति कुनै न कुनै मानसिक स्वास्थ्यको समस्या लिएर पुग्ने गरेको देखिन्छ ।
नेपाल प्रहरीको तथ्याङ्क नै हेर्ने हो भने वर्षेनि आत्महत्याको केसहरू बढीरहेका छन् । नेपालमा १ दिनमा १८ देखि १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउछ । त्यसैले समग्रमा भन्ने हो भने नेपालमा मानसिक स्वास्थ्यको समस्या भयावह देखिएको छ ।
मानसिक स्वास्थ्यभित्र कस्ता समस्याहरू बढी मात्रामा देखिएका छन् ?
मानसिक स्वास्थ्यलाई हामीले दुई प्रकारबाट हेर्छौ । एउटा सामान्य खालको मानसिक स्वास्थ्य समस्या र अर्को कडा खालको मानसिक स्वास्थ्य समस्या ।
सामान्य मानसिक स्वास्थ्य समस्या भित्र एन्जाइटि, डिप्रेसन, स्ट्रेस डिसअर्डरहरू आदि पर्दछन् । यस्ता समस्या सामान्य व्यक्तिहरूमा पनि हुँन सक्दछ । तर यो समस्या भएपनि स्वयम व्यक्तिहरूलाई थाहा नहुँन सक्दछ ।
कडा खालको मानसिक स्वास्थ्य समस्यामा मानसिक रुपमा बिच्छिप्त हुने, परिवारबाटै टाढिने, सामाजिक रुपमा नै मानसिक स्वास्थ्य समस्या देखिने खालका पर्दछन् ।
नेपालमा मानसिक स्वास्थ्यको समस्या कुन उमेर समुहलाई बढी देखिने गरेको छ ?
मानसिक स्वास्थ्यको समस्या यो उमेर समुहलाई छैन भन्नुभन्दा पनि सबै उमेर समुहलाई कुनै न कुनै खालको समस्याहरू छन् । तर, अहिले देखिएकोमा धेरै जति मानसिक स्वास्थ्यको समस्या एउटा किशोर अवस्थाका व्यक्तिहरूलाई र अर्को वृद्धा अवस्थाका व्यक्तिहरूलाई देखिएको छ ।
कुन अवस्थामा मनोचिकित्सक वा मनोपरामशकर्ताको सहयोग लिने ?
कुनै पनि एउटा व्यक्तिले लगातार दुई हप्ता सम्म राम्रोसँग काम गर्न नसकेमा,घरमा गर्ने दैनिक क्रियाकलापमा गर्न नसकेमा, कामलाई केन्द्रीकृत हुन नसकेको अवस्थामा मनोचिकित्सक वा मनोपरामशकर्ताको सहयोग लिनुपर्दछ । तर, कुनै पनि व्यक्तिले एकदिन, दुई दिन राम्रोसँग काम गर्न सकेन पछि सामान्य अवस्थामा नै काम गर्न सक्छ भने त्यतिमै आत्तिएर मनोचिकित्सक वा मनोपरामशकर्ताको मा जानु पर्दैन ।
नेपालमा मनोचिकित्सको जनशक्ति कम छ तर मानसिक स्वास्थ्यको समस्या बढिरहेको छ,यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
अहिले नेपालमा करिब दुई सय जना जति मनोचिकित्सकहरू छन् । त्यो सङ्ख्यालाई साह्रै कम भन्न मिल्दैन । नेपालमा अहिले धेरै मेडिकल कलेजहरुमा मनोचिकित्सकको विशेषज्ञताको पढाई सुरु भइसकेको छ,त्यसले दैनिक मनोचिकित्सकहरू उत्पादन भइरहेका छन् ।
यद्यपी, नेपालको जनसङ्ख्या अनुसार मनोचिकित्सकहरूको यो सङ्ख्या एकदम न्यून हो । त्यसकारले अहिले हामीले विभिन्न खालका काउन्सिलिङ्गको कोर्षहरु निर्माण गरेका छौं । त्यो प्याकेजहरु हामीले स्थानिय तहको स्वास्थ्य चौकीका स्वस्थ्यकर्मीहरुलाई तालिम दिइरहेका छौं । त्यसले मानसिक स्वास्थ्यका समस्याहरुलाई सम्बोधन गर्छ भन्ने लागेको छ ।
नेपाली समाजमा मानसिक स्वास्थ्यलाई सहज रुपमा लिइदैन, यो विषय आम नागरिकलाई बुझाउन के गर्दै हुनुहुन्छ ?
मानसिक स्वास्थ्य पनि एउटा रोग हो । रोग जसलाई पनि लाग्न सक्छ । अन्य रोग लाग्दा हामीले खुलेर औषधी खान्छु भन्न सक्ने तर म डिप्रेसनको औषधि खाँदै छु भन्न नसक्ने । यो अवस्था नेपाली समाजमा छ । तर, यो सबै हुनुमा जनचेतनाको कमी भएको मलाई लाग्छ । यसलाई हामीले चिर्नु आवश्यक छ । हिजोको दिनमा मानसिक स्वास्थ्यको जुन अवस्था थियो त्यो भन्दा धेरै सुधारिएको छ अहिले ।
जतिबेला म मेडिकल कलेजमा पढ्दै थिए, त्यतिखेर मानसिक स्वास्थ्यको अवस्था झनै भयावह थियो । आजभोलि कम्तीमा पनि मलाई डिप्रेसन जस्तो छ,म चिकित्सककोमा जान्छु भन्ने अवस्था सिर्जना भएको छ ।
तर, पनि हाम्रो समाजले मानसिक स्वास्थ्यलाई सहजै रुपमा लिने गरेको अवस्था छैन । त्यसलाई चिर्ने भनेको जनचेतना नै हो । हामीले यसलाई चिर्नका लागि स्वास्थ्यकर्मी, शिक्षक, विभिन्न अभियान्ताहरु, सञ्चारमाध्यमबाट जनचेतना फैलाउने कामहरु गरिरहेका छौं ।
(डा. बराल वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट प्रमुखको रुपमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखामा कार्यरत छन्)