अफ्रिकी देशहरूमा शल्यक्रिया गराउने बिरामीको मृत्युदर विश्वमै बढि
बीबीसी,२१ पुष । वैज्ञानिकहरूले भनेका छन् अफ्रिकी देशहरूमा शल्यक्रिया गराउने बिरामीको मृत्युदर बाँकी विश्वमा भन्दा दुई गुणाले बढी रहेको छ ।
त्यस्ता बिरामीहरू अन्यत्रभन्दा औसतमा कम उमेरका र स्वस्थ हुने गरेको उनीहरूको भनाइ छ ।
पच्चीसभन्दा बढी देशमा गरिएको सर्वेक्षणमा शल्यक्रियापछिको कमजोर निगरानी, अस्पतालमा पूर्वाधारको कमी र मुख्य गरी तालिम प्राप्त जनशक्तिको चरम अभावले यस्तो परिणाम दिइरहेको जनाइएको छ ।
तर अनुसन्धानकर्ताहरूले शल्यक्रियालाई लिएर अफ्रिकीहरूले देखाउने अनिच्छा चिन्ताजनक तहमा रहेको जनाएका छन् ।
उनीहरूले आवश्यकता भन्दा २० गुणा कम शल्यक्रिया अफ्रिकामा हुने गरेको पत्ता लगाएका छन् ।
अफ्रिकामा अहिलेसम्म गरिएको सबैभन्दा बृहद् स्तरको यसखालको अध्ययनको परिणाम ’द लान्सेट’ नामक मेडिकल जर्नलमा प्रकाशित छ ।