प्रदेश नम्बर ३ को स्वास्थमन्त्रीमा मेरो विकल्प छैन: डा रामकुमार



Download our app to get more features

धादिङ–२ को (क) बाट विजयी एमालेका नेता डा. रामकुमार अधिकारी पब्लिक हेल्थमा पिएचडी गरेका छन् । प्रदेश सभा सदस्यमा विजयी भएसँगै उनी समाज सेवा र विकासका खाका बनाउन थालेका छन् । महाराजगंज मेडिसिन क्याम्पसबाट जनस्वास्थ्य विषयमा पिएचडी गरेका अधिकारी पढाई अनुसार स्वास्थ्य क्षेत्र सुधारको अभियानमा लाग्ने बताउँछन । 

अमृत साइन्स क्याम्पसमा पढ्दै गर्दा उनी ०३७ सालमा राजनीतिमा प्रवेश गरेका थिए । पछिल्लो निर्वाचन परिणाबाट उनी निकै उत्साहित बनेका छन् । अमृत साइन्समा पढाई सकेपछि उनी तत्कालिन भूमिगत मालेको सदस्य समेत बने । त्यसबेला मालेले अधिकारीलाई धादिङको निलकण्ठ क्षेत्रको एरिया कमाण्डर बनाएको थियो । ०५४ सालको एमालेको छैठौँ महाधिबेशन नेपालगञ्जमा भयो । त्यसबेला बामदेव गौतम र सिपी मैनालीको लाइनमा रहेका अधिकारी पार्टी फुट्दा मालेतिर गए । पछि पार्टी एकीकरण भएपछि उनी पनि स्वत नेकपा एमालेका सदस्य भए । उनी एमाले निकट वृद्धिजीवी परिषद्को केन्द्रीय सदस्य पनि हुन् । उनलाई पार्टीभित्र प्रदेश नम्बर ३ को सरकारमा स्वास्थ्यमन्त्रीको रुपमा हेरिएको छ । उनै अधिकारीसँग शिव लामिछानेले गरेको कुराकानीको अंश :—

तपाईंलाई पार्टीभित्र प्रदेश नम्बर ३ को स्वास्थ्य मन्त्रीका रुपमा किन हेरेका होलान ?
स्वास्थ्य क्षेत्रको व्यक्तिलाई यसरी जनताले प्रत्यक्ष मत दिएर विजयी गराएको यो क्षेत्रको एक मात्रै प्रतिनिधि म नै हुँ । मतदाताले मलाई स्वास्थ्य मन्त्रीका रुपमा देख्न नै मत दिएका हुन । साथै स्वास्थ्य क्षेत्रलाई सुधार गर्न मसँग जति योजना र अनुभव अरु कुनै व्यक्तिमा नभएकाले पार्टीमा मेरो दावेदारी बलियो भएको हो । यसकारण प्रदेश नम्बर ३ को स्वास्थ्य मन्त्रीमा मेरो विकल्प छैन ।

नेपालको स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन केके गर्नुपर्छ ?
सबैभन्दा पहिला समृद्धिको परिभाषा स्पष्ट हुनुपर्छ । प्रति १० हजार मान्छेका लागि २४ जना डाक्टर चाहिन्छ । यसो हुन सक्यो भने विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा हुन्छ । अहिले हामी कहाँ प्रति १० हजारमा ६ जना मात्रै चिकित्सक छन् । यसैगरी प्रति एक हजार मान्छेका लागि एक दशमलब नौ क्षमता शय्याको  अस्पताल चाहिन्छ । संगठनको यो मापदण्ड पूरा गर्नका लागि नेपालमा ५६ हजार शय्या चाहिन्छ । नेपाल सरकारसँग जम्मा आठ हजार शय्या छ । त्यसैले पहिलो यस्ता कुरा जान्नुपर्छ । तर, नेपालमा विकास गर्छु भन्नेहरूलाई नेपालमा के आवश्यकता छ भन्ने नै थाहा छैन । 

यो मापदण्ड पूरा गर्नु ठुलै चुनौती हो र ?
यो लक्ष्य कोही एउटा व्यक्तिले पूरा गर्न सक्दैन । राज्यलाई मात्र दोष दिएर हुँदैन । सबै मिल्नुपर्छ । मैले प्रदेश नम्बर ३ मा भएका स्वास्थ्यसँग सम्बन्धित समस्याहरू पहिचान गरिसकेको छु । ती समस्या समाधानका लागि योजना पनि बनाइसकेको छु । मेरो योजना लागु गर्न पाएँ भने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ । 

के समस्या रहेछन् त प्रदेश नम्बर ३ मा ?
प्रदेश नम्बर ३ को सिन्धुली जिल्लाको आय सबैभन्दा कम छ । त्यसपछि रामेछापको अवस्था कमजोर छ । मैले सबै जिल्लाको समस्या पहिचान गरेर समाधानका उपायसहितको खाका बनाएको छु । 

तपाईं स्वास्थ्य विज्ञ पनि हुनुहुन्छ, स्वास्थ्य मन्त्री बनेपछि के के काम गर्नुहुन्छ ?
प्रदेश नम्बर ३ सरकारमा स्वास्थ्यमन्त्री बनेपछि मैले आफ्नो विज्ञता देखाउन भरपुर प्रयास गर्नेछु । स्वास्थ्य क्षेत्र भन्नासाथ मानिसले अस्पताल डाक्टर र नर्स मात्रै भन्ने बुझेको छन् । तर, स्वास्थ्य क्षेत्रसँग अन्य सबै क्षेत्र जोडिएको छ । सबैभन्दा बढी सडकसँग स्वास्थ्य जोडिएको हुन्छ । सडक भएन भने एम्बुलेन्स गुड्न सक्दैन । एम्बुलेन्स गुड्न नपाएपछि समयमा बिरामीलाई अस्पताल लैजान सकिदैन । जसका कारण बिरामीको मृत्यु समेत हुन सक्छ । शिक्षा अर्को महत्वपूर्ण कुरा हो । रोगबाट बच्न केके गर्नुपर्छ भन्ने शिक्षा सबैलाई दिनुपर्छ । हात धोएर मात्रै खाना खानुपर्छ भन्ने सिकाउने हो भने पनि धेरै रोग नियन्त्रण हुन्छ । स्वास्थ्य क्षेत्रको सुधारका लागि कृषि क्षेत्रमा पनि परिवर्तनको आवश्यकता छ । कृषि भनेको त पोषणसँग सम्बन्धित हुन्छ । कृषिसँग सिँचाई, वन सबै जोडिन्छ । त्यसैले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै काम गर्नुपर्छ । म स्वास्थ्य मन्त्री भएको पाँच वर्षभित्र विश्व स्वास्थ्य संगठनको सबै मापदण्ड पूरा गराउँछु । तर, बजेट र स्रोत साधनमा अभाव भने हुनुहुँदैन । मैले बनाएको योजनाअनुसार काम भयो भने यो प्रदेश सात वटा प्रदेशमध्ये सबैभन्दा राम्रो प्रदेश बन्न सक्छ । 

नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि लगानी कति महत्वपूर्ण छ ?
आर्थिक लगानीबिना त कुनै पनि क्षेत्रको सुधार हुनै सक्दैन । अहिले नेपालको कुल बजेटको जम्मा ६ प्रतिशत स्वास्थ्य क्षेत्रमा जान्छ  । जबकी माल्दिभ्सले २६ प्रतिशत लगानी गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्ने हो भने पनि कूल बजेटको १० प्रतिशत लगानी गर्नुपर्छ । 

यसअघि मापदण्ड पूरा हुने गरी किन विकास हुन नसकेका होला ?
नेपालमा २८ वर्षमा २४ जना प्रधानमन्त्री बने । यो भनेको अस्थिर सरकारको प्रमाण हो । अस्थिरताले नै विकास हुन नसकेको हो । अर्को कारण नेताहरूमा इच्छाशक्ति नै भएन । तेस्रो कारण भनेको पहिलो र दोस्रो कारणबाट निम्तिएको कमजोर योजना हो ।
राजा महेन्द्रले एक हजार २८ किलोमिटर पूर्वपश्चिम राजमार्ग बनाउने योजना ल्याएका थिए । त्यसपछि यस्ता योजना नै आएका छैनन् । कमजोर योजनासँगै कमजोर कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र दण्ड र पुरस्कारको व्यवस्था भएन । चौँथो कारण भनेको शुसाशनको अभावबाट चुलिएको भ्रष्टाचारका कारण नेपालमा विकास हुन नसकेको हो । 

०३७ सालदेखि देश विकास गर्छु भन्दै राजनीतिमा लाग्नु भएको छ । देश विकासमा तपाईंको चाही के भूमिका रह्यो त ?
हाम्रो पुस्ताले राजनीतिक अस्थिरता झेल्नुपर्यो । हामीले तल्लो तहको हैसियतमा मात्रै राजनीति गर्ने मौका पायौँ । मैले जानेका कुरा नेतृत्व तहलाई बारम्बार भन्दै आएको छु । तर, अस्थिर राजनीतिले गर्दा नेतृत्वले पनि सहजीकरण गर्न सकेन । त्यसैले हाम्रो भूमिका सुझाब दिनेमा मात्रै रहेको देखिन गयो । 

जनताले विश्वास गरेका छन् । अब स्थाई सरकार बन्छ त ?
जनतालाई स्थिर सरकार दिनुपर्छ । स्थिर सरकार भएन भने विकासका काम पहिलाकै जसरी अलपत्र पर्छन् । त्यसैले प्रदेश नम्बर ३ मा पाँच वर्षको स्थिर सरकार बन्न नसक्ने अवस्था आयो भने म सासंद पदबाट राजिनामा दिन्छु । 
 

Last modified on 2017-12-28 14:12:33

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts