दशकौं यता कै ठुलो भोकमरीको खतरामा यमन

संयुक्त राष्ट्रसंघ, २४ कात्तिक (रासस÷सिन्ह्वा) : साउदी अरेबिया(नेतृत्वको सैन्य गठबन्धनले मानवीय सहायता सामाग्रीको आपूर्तिमा लगाइएको नाकाबन्दी नहटाए विश्वले दशकौं यता नदेखेको सबभन्दा ठूलो भोकमरी यमनले भोग्न सक्ने संयुक्त राष्ट्रसंघका सहायता प्रमुख मार्क लोककले चेतावनी दिएका छन् ।
मानवीय सहायता सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठकमा प्रमुख लोककले बिहिबार सञ्चारकर्मीसँग दशौं लाख मानिसहरु भोकमरीको जोखिममा रहेका बताए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बन्दसत्र बैठकलाई यमनको अवस्थाबारे जानकारी गराएपछि पत्रकारहरुसँग कुरा गर्दै लोककले भने, “मैले सुरक्षा परिषद्लाई भनेको छु कि यमनको सीमा नाकाको अवरोध हटेन भने त्यहाँ भोकमरीको अवस्था आउनेछ।”
“त्यो विश्वले दशकौं यता भोगेको सबभन्दा ठूलो भोकमरी हुनेछ र दशौं लाख त्यसको चपेटामा पर्नेछन् ।” संयुक्त राष्ट्रसंघले सत्तरी लाख यमनी नागरिक भोकमरीको जोखिममा रहेको जनाएको छ ।
यसै हप्ताको शुरुवातमा संयुक्त राष्ट्रसंघ र रेडक्रसले पनि त्यस्तो खतरनाक परिस्थितिले सहायता सामाग्रीहरुमा निर्भर रहेका दशौं लाख यमनी जोखिममा पर्नसक्ने चेतावनी दिएका थिए ।
बन्दसत्रपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले नाकाबन्दी अन्त्य गर्न माग गरेको छ ।
साउदी अरेबियाको राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि सोमबार साउदी नेतृत्वको गठबन्धनले, यमनको सबै स्थल, हवाई र सामुद्रिक सीमा नाका बन्द गरिदिएको थियो । साउदी अरबले उक्त कदम आफ्नो प्रतिद्वन्द्वी इरानलाई हुथी विद्रोहीहरुलाई हातहतियार आपूर्ति गर्न दिनबाट रोक्नका लागि चालिएको साउदी बताएको छ ।