दिल्लीमा पराल बालेर आगो ताप्दा प्रदुषणको मात्रा अत्याधिक
नोभेम्बरमा आयोजना हुन लागेको हाफ म्याराथन स्थगित गर्न आईएमएको सुझाव

बीबीसी,२३ कात्तिक । गएको तिहारसँगै बढेको तुवाँलो जाडो लागेपछि झनै बढेका कारण भारतको राजधानी दिल्लीमा त्याहाँका प्राथमिक विद्यालयहरु बन्द गरिएको छ ।
तिहारमा अत्याधिक पटका पड्काउँदा वायु प्रदूषण हुन धेरै हदसम्म मद्दत पुगेको थियो भने जाडो लागेसँगै खासगरी पराल बालेर आगो तापेका कारण प्रदुषणको मात्रा निकै बढेको बीबीसीले उल्लेख गरेको छ । प्रदुषणको मात्रा यति बढेको छ की विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा ७० गुणासम्म बढी पाइएको छ ।
दिल्ली शहरका उप–मुख्य मन्त्री मनीष शिशोडियाले विद्यालयहरु कहिलेसम्म बन्द गरिरहने भन्ने बारे निर्णय लिन प्रत्येक घण्टामा अब प्रदूषणको स्थितिको निरीक्षण गरिने बताएका छन्। दिल्लीका विद्यालयहरुलाई बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरु गर्न पनि रोक लगाइएको छ ।
आपतकालको स्थिति
यसअघि भारतीय मेडिकल संघ (आईएमए)ले जनस्वास्थ्यमा आपतकालको स्थिति आएको भन्दै सरकारलाई प्रदूषणका कारण उत्पन्न जोखिमलाई नियन्त्रण गर्न हर सम्भव प्रयास गर्नका लागि आह्वान गरेको छ। दिल्लीमा १९ नोभेम्बरमा आयोजना हुन लागेको हाफ(म्याराथन प्रतियोगिता पनि स्थगित गर्न आईएमएले सुझाएको छ। विश्वकै सबभन्दा प्रदूषित मध्येको एक शहर मानिएको दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको छ।मंगलबार एक जना वरिष्ठ डाक्टरले त्यहाँको प्रदूषणको स्तर भनेको दैनिक ५० खिल्ली चुरोट पिउनु बराबर भएको बताए।
तुवाँलोका कारण उत्पन्न समस्या
तुवाँलोका कारण उत्पन्न समस्यालाई दर्शाउने तस्वीरहरु मानिसहरुले सामाजिक सञ्जालमा राखिरहेका छन्। भारतीय राजधानी दिल्लीमा वर्षेनी खास गरी जाडो महिना शुरु भएपछि बाक्लो तुवाँलो फैलिने समस्या देखिने गर्छ।
गाडीबाट निस्किएका धूवाँ तथा छिमेकी राज्यहरु पञ्जाब र हरियाणामा कृषकहरुले कृषिबालीका ठुटाहरु जलाउने कार्यले वायु प्रदूषण बढाएको बताइएको छ।
साथै कम गतिको हावा, निर्माणस्थलबाट आउने धूलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइएको छ ।