बङ्गलादेशमा आर्सेनिकयुक्त पानीका कारण जान्छ वर्षेनी ४३ हजारको ज्यान
ड्रिङकवेल प्रशोधन केन्द्रहरु स्थापनापछि केही राहात
बीबीसी, कात्तिक १ । बङ्गलादेशमा सन् १९७० को दशकमा करोडौं ट्युबवेलहरु जडान गरिए । तर त्यसको केही समयपछि नै आर्सेनिकबाट हुने विषाक्तताको समस्या देखिन थाल्यो ।
आर्सेनिक न त देख्न सकिन्छ, न यसको कुनै गन्ध नै हुन्छ। यसको पहिलो संकेत छालामा देखिने दाग नै हुन् जुन विषाक्तता फैलिसकेपछि मात्रै देखिन्छ । यो विषाक्तताले मुटुरोग तथा क्यान्सर जस्ता रोगहरु पनि लाग्न सक्छन्। ह्युमन राइट्स वाचले बङ्गलादेशमा हरेक वर्ष आर्सेनिकबाट उत्पन्न विषाक्तताका कारण झण्डै ४३,००० मानिसको ज्यान जाने गरेको अनुमान गरेको छ ।
यो समस्यासंग जुध्न बङ्गलादेशका केही सामाजिक उद्यमीहरुले ड्रिङकवेल नामक कम्पनी खडा गरी पानी प्रशोधन तथा वितरण शुरु गरेका छन् ।अहिले भारत र बङगलादेशमा ३० वटा ड्रिङकवेल प्रशोधन केन्द्रह स्थापना गरिएको छ, जसले एक लाख मानिसलाई सफा पिउने पानी उपलब्ध गराइरहेका छन् । ड्रिङकवेल नामक कम्पनीसँग सम्बद्ध उद्यमीहरुले स्थानीयस्तरमै प्रशोषित पानी बेच्छन् र उठेको पैसा उक्त प्रणाली मर्मत सम्भार गर्न खर्चन्छन् ।
ठाउँ हेरेर उक्त शुद्ध पानीको मुल्य निर्धारण गरिन्छ । दैनिक २० लिटर पानीको लागि ४ देखी ९ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । ड्रिङकवेल कम्पनीका कर्मचारी हरिबुर रहमानका अनुसार पहिला ट्याङकीमा पानी जम्मा गरिन्छ । त्यसपछि पानीलाई फिल्टर गर्न राखिएका भाँडामा पानी पाइपद्धारा पठाइन्छ र शुद्ध पारीन्छ । यी भाँडाहरुले आर्सेनिक, फलाम, पानीको कडापन र ब्याक्टेरियाबाट पानीलाई शुद्ध पार्दछन् । प्रशोधित पानी अर्को सफा ट्याङकीमा भण्डार गरिन्छ र गाउँलेलाई वितरण गरिन्छ ।