आँखा रातो हुने कारण के हो ? “कन्जक्टिवाइटिस”का बारेमा थाहा पाउनुस्...



Download our app to get more features

काठमाडौँ, २८, असार । यतिबेला मनसुनको मौसम चलिरहेको छ । मनसुन सुरु भएसँगै स्वास्थ्यमा विभिन्न संक्रमण हुने सम्भावना बढि हुन्छ । हाम्रो शरीरमा अन्य समस्याजस्तै आँखा पनि वर्षायाममा बढी संक्रमित हुने गर्दछ । आँखामा हुने विभिन्न किसिमका संक्रमण मध्ये एक हो “कन्जक्टिवाइटिस” । “कन्जक्टिवाइटिस” बाह्रै महिना भए तापनि वर्षायाममा भने बढी हुने गर्छ । वर्षायाममा “कन्जक्टिवाइटिस” हुनुुको कारण भनेको ओसिलो समय हो । किन की ओसिलो समय ब्याक्टेरिया र भाइरसलाई उत्पादन गर्न सहयोगी हुन्छ । 

“कन्जक्टिवाइटिस” भनेको आँखाको बाहिरी भागमा भएको सबैभन्दा मसिनो झिल्लीमा संक्रमण हुनु हो । उक्त झिल्लीमा जलन हुने र रातोपन आउनु “कन्जक्टिवाइटिस” को लक्षण हो । नेपाल आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा.इन्दुप्रसाद ढुंगेलका अनुसार आँखा रातो हुनु नै “कन्जक्टिवाइटिस” भने होइन । किनकी आँखा रातो हुनुको कारण आँखामा धुलो पर्नु, चोट लाग्नाले पनि आँखा रातो हुने गर्दछ ।  हाम्रो डाक्टर सँगको कुराकानीमा डा.ढुंगेलले भने, ‘आँखा रातो भएर एकदुई दिनमा निको नहुँदा वा आँखामा धेरै जलन हुने, चिलाउने भयो भने आफैँले औषधि किनेर खानुुभन्दा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।’ डा. ढुंगेलका अनुसार “कन्जक्टिवाइटिस” सामान्यतया १२ प्रकारका हुन्छन् तर, सबैभन्दा बढी भाइरल र ब्याक्टेरियल हानीकारक हुन्छ । उनले, “कन्जक्टिवाइटिस” विशेषगरी संक्रमण कै कारण हुने हुँदा मनसुनमा बढी ध्यान दिनुपर्ने सुझाव दिए । ब्याक्टेरियलभन्दा भाइरल “कन्जक्टिवाइटिस” बढी खतरनाक हुने डा. ढुंगेलको भनाइ छ ।  

ब्याक्टेरियल “कन्जक्टिवाइटिस” को उपचारको ऐन्टीबायोटिक आई ड्रप उपयोगी हुने भन्दै उनले भाइरल “कन्जक्टिवाइटिस” को उपचार चिकित्सकै रेखदेखमा गर्नु राम्रो हुने बताए । डा.ढुंगेलका अनुसार  भाइरल “कन्जक्टिवाइटिस” मा ऐन्टीबायोटिक आई ड्रपले काम नगर्ने भएकाले  परीक्षणबाट पत्ता लाग्ने वित्तिकै चिकित्सकसँग परामर्श गरेर उपचार गराउनु पर्छ ।  

उसो त “कन्जक्टिवाइटिस” को बारेमा गरिएको अध्ययनलाई मान्ने हो भने आई ड्रपको प्रयोग “कन्जक्टिवाइटिस” का लागि झन नोक्सानपूर्ण हुनसक्छ । किनकी ऐन्टीबायोटिक आई ड्रपले केही समय राहत भएपनि पछि त्यसले झन् समस्या हुन सक्छ । 

अन्र्तराष्ट्रिय जर्नल अप्थेलोमोलोजीमा प्रकाशित अध्ययनका अनुसार करीब ६० प्रतिशत “कन्जक्टिवाइटिस” इन्फेक्शन भाइरसकै कारणले हुने हुँदा यसको उपचारमा ऐन्टीबायोटिकको खासै भुमिका हुँदैन । “कन्जक्टिवाइटिस” एक यस्तो अवस्था हो जसमा कन्जक्टिवाले आँखाको अगाडीको सतहमा पाइने निकै नै मसिनो झिल्लीमा जलन र रोतोपन ल्याउँछ । 

डा.ढुंगेलका अनुसार “कन्जक्टिवाइटिस” को इन्फेक्शन भाइरल हो वा ब्याक्टेरियल भन्ने जाँच गर्नु प्रक्रियागत रुपले सम्भव नभएपनि त्यसबाट राहत पाउनका लागि ऐन्टीबायोटिक्स आई ड्रप राख्नु पर्छ । 

भाइरलका कारण हुने “कन्जक्टिवाइटिस” मा एन्टी भाइरल नामक औषधिको प्रयोगले निको हुने उनले बताए । 

डा.ढुंगेलले, ब्याक्टेरियल इन्फेक्शनका कारण हुने “कन्जक्टिवाइटिस” कोर्निया सम्म पुगेर कोर्नियामा इन्फेक्शन गराउने  र घाउ बनाइदिने हुँदा आँखालाई स्थायी रुपमा नै नोक्सान पुर्याउन सक्छ । त्यसैले “कन्जक्टिवाइटिस” भएको शंका लागेमा वा आँखामा कुनै प्रकारको समस्या भएमा तुरुन्तै चिकित्ससँग उपचार गराईहाल्नु पर्छ भन्ने उनले सुझाएका छन् ।

Last modified on 2017-08-01 16:46:20

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts