'क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय नीति आवश्यक'



Download our app to get more features

खानपान तथा जीवनशैलीका कारण नेपालमा सर्नेभन्दा नसर्ने रोग वृद्धि भइरहेको छ । जसमध्ये क्यान्सर पनि एक हो । नेपालमा दिनप्रतिदिन क्यान्सर रोगी बढ्दै छन् । क्यान्सरबाट हुने जोखिम कम गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्य हुँदै आएको छ । तर, नेपालमा क्यान्सर नियन्त्रणका लागि स्पष्ट नीति अभावले लक्ष्यअनुरूप काम हुन सकेको छैन । 

सन् २०१४ मा संयुक्त राष्ट्रसंघले क्यान्सर नियन्त्रण नीति तय गर्न प्रत्येक राष्ट्रलाई आग्रह गरेको थियो । सदस्यराष्ट्र भएकाले नेपाल पनि प्रतिबद्धतामा हस्ताक्षर गरेको छ । नेपालमा क्यान्सर रोगी वृद्धिका कारण, नियन्त्रणका लागि आवश्यक नीतिलगायत विषयमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठसँग हाम्रो डक्टरका लागि बासुदेव न्यौपानेले गरेको कुराकानी :

नेपालमा क्यान्सर रोगको अवस्था कस्तो रहेको छ ?
संसारभरि जुन रूपमा क्यान्सर रोगी बढिरहेका छन्, त्यसरी नै नेपालमा पनि क्यान्सर रोगी बढिरहेका छन् । अस्पतालमा क्यान्सर उपचार गर्न आउने रोगीको संख्या विगतको तुलनामा अत्यधिक मात्रामा बढेको पाइन्छ । नेपालमा आधिकारिक अनुसन्धान नगरिएकाले यसै भन्न सक्ने अवस्था छैन ।

 क्यान्सर रोगी बढ्नुका मुख्य कारण ?
उमेर बढेसँगै क्यान्सर हुने सम्भावना बढी हुन्छ । जीवनशैली परिवर्तनका कारण नेपालमा क्यान्सर रोगी बढिरहेका छन् । त्यसैगरी, सहरीकरण र औद्योगिकीकरण प्रभावले नेपालमा क्यान्सर रोगी बढेको पाइन्छ । सहरीकरण र औद्योगिकीकरणले वातावरणमा विभिन्न किसिमका ‘केमिकल’ प्रयोग, रहनसहनले समेत क्यान्सर रोगी बढ्ने सम्भावना हुन्छ । नेपाली शारीरिक श्रम गर्न छाडेर सहरी जीवनयापनमा लोभिएका छन् । यसैगरी धूमपान, मद्यपान, खानपानमा ध्यान नदिने, चिल्लो, तारेको, भुटेको खानेकुरा र जंकफुड अत्यधिक प्रयोग गर्नु नै क्यान्सर रोगका कारण हुन् । 

नेपालमा कुन–कुन प्रकृतिका क्यान्सर रोगी बढी भेटिएका छन् ?
नेपालमा मात्र होइन, संसारभरि नै फोक्सोको क्यान्सर रोगी बढी मात्रामा छन् । यसको प्रमुख कारण सुर्तीजन्य पदार्थ प्रयोग नै हो । फोक्सोको क्यान्सरको ८० प्रतिशत कारण नै धूमपान मानिन्छ । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोगीसमेत अत्यधिक मात्रामा रहेका छन् । यसैगरी, नाक, कान, घाँटी, आमाशय र ठूलो आन्द्राको क्यान्सर रोगीसमेत नदेखिएको होइनन् । 

क्यान्सर भन्नासाथ ज्यान लिने रोग भनेर चिनिने गरिएको छ तर त्यस्तो होइन । यसबाट बच्न सकिन्छ । सुरुकै अवस्थामा उपचार गरेमा क्यान्सर निको पार्न सकिन्छ ।​

क्यान्सर रोगप्रति आममानिसको धारणा र सचेतना कस्तो रहेको छ ?
सहरी क्षेत्रमा क्यान्सर रोगबारे सचेतना बढेको पाइएको छ । तर जुन रूपले हुनुपर्ने हो, त्यसअनुरूप हुन सकेको छैन । ग्रामीण क्षेत्रमा भने क्यान्सर रोगबारे धेरै कममा चेतना छ । क्यान्सर भन्नासाथ ज्यान लिने रोग भनेर चिनिने गरिएको छ तर त्यस्तो होइन । यसबाट बच्न सकिन्छ । सुरुकै अवस्थामा उपचार गरेमा क्यान्सर निको पार्न सकिन्छ । विभिन्न कारणवश अन्तिम अवस्थामा उपचारमा आउनाले क्यान्सर रोगीमध्ये धेरैको ज्यान जाने गरेको छ । क्यान्सर लक्षण देखापरेपछि मात्र उपचार गर्ने प्रवृत्ति त्यागेर सुरुकै अवस्थामा क्यान्सर पत्ता लगाउन नियमित स्वास्थ्य जाँच गर्नुपर्छ ।

नेपालमा क्यान्सर रोगको उपचार हुँदैन, उपचारका लागि विदेश जानुपर्छ भन्ने आमधारणा रहेको छ । क्यान्सर रोगीको उपचार मुलुकमै पूर्ण रूपमा गर्न सकिन्छ । पहिले क्यान्सर रोग उपचार सम्भव नभए पनि अहिले सम्भव भइसकेकोे छ । क्यान्सरको डायग्नोसिस गर्दा बायोस्पी गर्नुपर्छ तर बायोस्पी गर्नुहुँदैन भन्ने नेपालीको बुझाइ छ । यसो गर्दा क्यान्सर बढ्दै जान्छ भन्ने भ्रमसमेत रहेको पाइन्छ । 

क्यान्सर नियन्त्रण गर्न के–कस्ता सावधानी अपनाउनुपर्छ ?
क्यान्सर नियन्त्रण गर्न एकल प्रयासबाट सम्भव छैन । यसका लागि सबै क्षेत्रले आ–आफ्नो तर्फबाट सावधानी अपनाउनु जरुरी हुन्छ । यो वर्षको विश्व क्यान्सर दिवसको नारा ‘आई क्यान, वी क्यान’ ले पनि क्यान्सर नियन्त्रण गर्न जोड दिएको छ । यसको नियन्त्रण गर्न आफूबाटै सुरुवात गर्नुपर्छ । यसका लागि खानपान, धूमपान, मद्यपान, जीवनशैली, नियमित व्यायाममा ध्यान दिन सके क्यान्सरबाट बच्न सकिन्छ । 

८० प्रतिशत फोक्सोको क्यान्सर धूमपानकै कारणले हुने हुँदा यसलाई निरुत्साहित गर्न कडाइसाथ कानुन पालना गर्नुपर्छ । यसलाई प्रभावकारी बनाउन करको दायरा बढाउन सके क्यान्सर रोगबाट बच्न सकिन्छ । जीवनशैलीमा परिवर्तन गर्न सके करिब एकतिहाइ क्यान्सरको जोखिम घटाउन सकिन्छ । तसर्थ, आममानिस सजग हुनुपर्ने देखिन्छ । 

जोकोहीले सानैदेखि खानपानमा ध्यान दिनुपर्छ । जसले गर्दा उनीहरूले खानपानमा ध्यान दिन सक्छन् । त्यसका लागि विद्यालयले समेत भूमिका खेल्नुपर्छ । विद्यालयमा नियन्त्रण गर्न सकेमा उनीहरूले सानैदेखि जंकफुड खाँदैनन् । जंकफुड नियन्त्रणले क्यान्सरमात्र होइन, नसर्ने रोगमा कमी ल्याउन सकिन्छ । यसको साथै, सरकारी तथा गैरसरकारी संस्थामा नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न सके क्यान्सर रोगी घटाउन सकिन्छ । 

क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नीति बन्नु आवश्यक छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघले क्यान्सर नियन्त्रण नीति तय गर्न प्रत्येक राष्ट्रलाई आग्रह गरेको थियो । नेपाल सदस्यराष्ट्र भएको नाताले प्रतिबद्धतामा हस्ताक्षर गरेको छ । ​

नेपालमा भइरहेका क्यान्सर नियन्त्रण कार्यक्रम कत्तिको प्रभावकारी छन् ?
क्यान्सर नियन्त्रणका लागि सञ्चालित कार्यक्रम त्यति प्रभावकारी देखिँदैन । कार्यक्रम निष्प्रभावी बन्नुका कारण क्यान्सर नियन्त्रणका लागि स्पष्ट नीति नहुनु नै हो । नीति अभावले लक्षित क्षेत्र र समुदायमा प्रभावकारी काम हुन सकेको छैन । नीति अभावले सरकारी तथा गैरसरकारी क्षेत्रबाट आ–आफ्नै किसिमले भइरहेका काम प्रभावकारी बन्न सकेको छैन । तसर्थ, क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नीति बन्नु आवश्यक छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघले क्यान्सर नियन्त्रण नीति तय गर्न प्रत्येक राष्ट्रलाई आग्रह गरेको थियो । नेपाल सदस्यराष्ट्र भएको नाताले प्रतिबद्धतामा हस्ताक्षर गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रत्येक देशमा राष्ट्रिय क्यान्सर नीति हुनुपर्छ भन्दै जोडबल गरेको छ । उसले सहयोग गर्न तत्परता देखाउँदै आउनुका साथै ‘गाइडलाइन’ समेत तयार पारेको छ । 

राष्ट्रिय नीति नहुँदा क्यान्सर नियन्त्रणका प्रयास प्रयासमै सीमत छ । नीति बनाएर भइरहेका कामलाई प्रभावकारी बनाउन आवश्यक छ । जसले गर्दा क्यान्सर नियन्त्रणमा भएका कामले गति लिन सकेको छैन । 

क्यान्सर नियन्त्रणका लागि नीति आवश्यक किन ?
नीति भएमा क्यान्सर रोगका कारण थाहा पाउनुको साथै क्यान्सर रोगीको अवस्था र संख्या थाहा पाउन सजिलो हुन्छ । त्यसअनुरूप ‘गाइडलाइन’ बनाएर विषयवस्तुलाई नीतिमा समावेश गर्न सकिन्छ । जुन क्षेत्रमा क्यान्सर बढेको छ, त्यहाँ सोहीअनुरूप क्यान्सर नियन्त्रणका लागि काम गर्न सके यसबाट हुन सक्ने जोखिम कम गर्न सकिन्छ । 

नीति अभावले एकैठाउँमा बजेट खर्च हुँदै आएको छ, नीति भएमा त्यसलाई सच्याउँदै सबै ठाउँमा बजेट विनियोजन गर्न सघाउँछ । 

यसैगरी, क्यान्सरको सही पहिचान गरी त्यसअनुरूप विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिन्छ । क्यान्सर उपचारका लागि स्रोत, साधन र जनशक्ति अभाव रहे पनि त्यस्तो कार्यक्रमले स्रोत, साधन र जनशक्ति सही तरिकाले परिचालन गर्न सहयोग पु¥याउँछ । नीति अभावले एकैठाउँमा बजेट खर्च हुँदै आएको छ, नीति भएमा त्यसलाई सच्याउँदै सबै ठाउँमा बजेट विनियोजन गर्न सघाउँछ । 

पछिल्लो समय प्रविधि र विशेषज्ञता बढे पनि क्यान्सर रोगी झन् बढिरहेका छन् । नेपालमा क्यान्सर रोग उपचारको अवस्था कस्तो छ ? 
पहिलेको अवस्था हेर्ने हो भने निदान गर्ने प्रविधि र जनशक्तिमा धेरै परिवर्तन आइसकेको छ । यसको विकास पनि भएको छ । पहिले क्यान्सर निदानका लागि विदेशको मुख ताक्नुपर्ने अवस्था थियो, अहिले त्यस्तो छैन । हिजोआज क्यान्सर निदानका लागि नेपाली विदेश गइरहनुपर्दैन । निदानमात्रै होइन, उपचारका लागि समेत बाहिर जानुपर्दैन । सबै उपचार नेपालमै सम्भव छ । सोहीअनुरूप अन्तर्राष्ट्रियस्तरकै उपचारपद्धति विकास भएको छ । 

त्यसो भए क्यान्सर रोग निदान तथा उपचारका लागि विदेश जानुपर्ने अवस्था साँच्चिकै अन्त्य भएको हो त ?
हो । अब क्यान्सर रोग निदान तथा उपचारका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य भएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध भइरहेको छ । नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबाट हामीले गुणस्तरमा ध्यान दिँदै क्यान्सर उपचारका लागि विश्वस्तरीय सेवा दिँदै आएका छौं । 

उपचार लागू हुनेगरी क्यान्सरका लागि अलग्गै बीमा कार्यक्रम ल्याउन अति आवश्यक छ । निको हुने क्यान्सर उपचारमा सालाखाला पाँचदेखि १० लाख रुपैयाँसम्म खर्च हुने देखिन्छ । क्यान्सर रोगीले पाँचदेखि १० लाखसम्म पाउनेगरी बीमा राख्न पाए सजिलो हुन्थ्यो ।

क्यान्सर रोग नियन्त्रणमा सरकारले के–कस्ता कार्यक्रम थप्नुपर्ने देखिन्छ ?
क्यान्सर रोग निदान भइसकेपछि उपचार खर्च अत्यधिक महँगो छ । यसले भयावह समस्या ल्याएको छ । सरकारले स्वास्थ्य बीमातर्फ ध्यान दिनु आवश्यक छ । स्वास्थ्य बीमामा पनि विशेषगरी क्यान्सरजस्ता महँगा रोगका लागि छुट्टै बीमा कार्यक्रम ल्याउन जरुरी देखिन्छ । उपचार लागू हुनेगरी क्यान्सरका लागि अलग्गै बीमा कार्यक्रम ल्याउन अति आवश्यक छ । निको हुने क्यान्सर उपचारमा सालाखाला पाँचदेखि १० लाख रुपैयाँसम्म खर्च हुने देखिन्छ । क्यान्सर रोगीले पाँचदेखि १० लाखसम्म पाउनेगरी बीमा राख्न पाए सजिलो हुन्थ्यो । जसले गर्दा क्यान्सर रोगी, उसका परिवारलाई मात्र होइन, सरकारलाई समेत आर्थिक भार कम पर्न सक्छ । सरकारले उपलब्ध गराउँदै आएको एक लाख रुपैयाँ वैज्ञानिक छैन । त्यसको दुरुपयोगमात्रै भएको छ । 

ग्रामीण क्षेत्रका क्यान्सर रोगी सरकारले दिने एक लाख सहुलियतबारे अनभिज्ञ छन् । उनीहरूलाई सरकारले दिँदै आएको सहुलियतबारे थाहा दिन जरुरी छ । यो खर्च निको हुने बिरामीका लागि मात्र उपलब्ध गराउँदा वैज्ञानिक हुन्छ । तसर्थ, सरकारले क्यान्सर रोग उपचारका लागि छुट्टै स्वास्थ्य बीमा नीतिमार्फत लागू गर्नुपर्छ ।

अन्त्यमा, तपाईंहरूले आफ्नो क्षेत्रबाट क्यान्सर रोकथाम, न्यूनीकरण र उपचार पद्धतिमा के–कस्ता काम गरिरहनुभएको छ ?
एकल प्रयास, समूह र संस्थाको तर्फबाट धेरै काम गर्दै आएका छौं । सर्वप्रथम क्यान्सर रोग प्रिभेन्सनका लागि आवाज उठाउँदै आएका छौं । नेपाल क्यान्सर ग्रुप सपोर्ट नामक सन् २००९ मा संस्था स्थापना गरेर काम गर्दै आएका छौं । यसबाट नेपाल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा विभिन्न जनचेतनामूलक काम पनि गर्न छाडेका छैनौं । सुरुकै अवस्थामा क्यान्सर पत्ता लगाउन देशका विन्भिन क्षेत्रमा ‘स्केनिङ’ कार्यक्रम थालेका छौं । 

यही वर्ष ललितपुरका १४ गाविसका सम्पूर्ण महिला (करिब सात हजार) को पाठेघरको मुखको क्यान्सर निःशुल्क स्केनिङ गर्दै आएका छांै । काम अन्तिम अवस्थामा पुगेको छ । यसको साथै स्तन क्यान्सरको जाँच गर्नुका साथै उक्त क्षेत्रका स्वास्थ्यकर्मीलाई पाठेघर र स्तन क्यान्सर समयमै पत्ता लगाउन तालिमसमेत दिँदै आएका छौं । सरकारी सहयोगविना कार्यक्रम सञ्चालन गर्दै आएका हौं । 

क्यान्सर उपचार पद्धतिलाई गुणस्तरीय बनाउन नेपालमै सुविधायुक्त अन्तर्राष्ट्रियस्तरको नेपाल क्यान्सर हस्पिटल बनाएका छौं । प्राविधिक सहयोगका लागि राजीव गान्धी क्यान्सर अस्पतालले सहयोग गरिरहेको छ । अस्पतालले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिन लागिपरेको छ । 

Last modified on 2017-06-15 16:43:26

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts