हङकङमा कोभिडको पाँचौं लहरः संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त
एजेन्सी, ५ फागुन । कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ। नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ। १० हजारभन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन्।
हङकङमा अहिले कोभिडको पाँचौं लहर चलेको छ। संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन। बुधबार मात्र ४ हजार २८५ नयाँ संक्रमित भेटिएका थिए। पछिल्लो २४ घन्टामा कोभिडका कारण एक तीन वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ। विज्ञहरुले हङकङमा दैनिक संक्रमितको संख्या २८ हजारसम्म पुग्ने सावधानी दर्शाएका छन्।
एउटा दुर्लभ हस्तक्षेपमा चिनियाँ राष्ट्रपति सी जिनपिङले संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय चाल्न हङकङका स्थानीय नेतालाई अनुरोध गरेका छन्।
जिनपिङको टिप्पणीले चीनको विशेष प्रशासनिक क्षेत्रमा कठोर नियन्त्रणको संकेत गरेको छ। सामूहिक परीक्षण र लकडाउनबिना नै हङकङ सरकारले चीनमा जस्तै शून्य कोभिड नीति लगाउने तयारी गरेको छ।
महामारी सुरु भएपछि अहिलेसम्म २६ हजार संक्रमित भएका छन् भने २०० जनाको मृत्यु भएको छ।