नोबेल शिक्षण अस्पतालमा दूरविनबाट गरियो ढाडको नसाको शल्यक्रिया



Download our app to get more features

विराटनगर, २२ माघ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दूरविनको माध्यमबाट गरिएको छ। झापाको बिर्तामोड नगरपालिका–४ का ४८ वर्षीय पेलेङसिंह धिमालको दूरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

अस्पतालको न्यूरो विभागका प्रमुख एवं वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो। काठमाडौं उपत्यकाबाहिर पहिलो पटक दूरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको डा. काफ्लेले बताए।

‘मेरुदण्डमा नसा च्यापिँदा सामान्य अवस्थामा औषधि दिइन्छ, अपरेशन गर्नुपर्ने देखिएमा प्रायः चिरेर गरिन्छ। तर, दूरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अपरेशन कमै हुन्छ‚’ उनले भने, ‘काठमाडौं उपत्यकाबाहिर पहिलो पटक हामीले यस्तो अपरेशन सफलतापूर्वक गरेका हौं।’

धिमालको ढाडमा सानो प्वाल बनाएर दूरविनको माध्यमबाट अपरेशन गरिएको हो। दूरविनको माध्यमबाट अन्य किसिमका अपरेशन भइरहन्छन्। नोबेलमै पनि दूरविनको प्रयोग गरेर अपरेशन हुँदै आएको छ। तर, ढाडको नसा च्यापिएको समस्याको अपरेशनमा भने यो विधि प्रयोग गर्ने गरिएको थिएन।

दूरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अपरेशन गर्दा सानो घाउ हुँने भएकाले बिरामीलाई निकै सहज हुन्छ। सानो घाउ हुनाले अप्रेशन गरेको दिन अथवा भोलिपल्ट नै बिरामी घर जान सक्ने चिकित्सकहरु बताउँछन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts