दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ भेरिएन्टलाई ‘ओमिक्रोन’ नामाकरण गरियो
युरोप र अमेरिकामा कडाई, इजरायलमा स्वास्थ्य आपतकालको तयारी
एजेन्सी, ११ मङ्सीर । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ उत्परिवर्तित स्वरुपको नामाकरण गरेको छ ।
शुक्रवार आयोजिन नियमित मिडिया ब्रिफिङ्गको क्रममा सङ्गठनले नयाँ भेरिएन्टलाई ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गर्दै नयाँ स्वरुपलाई ‘ओमिक्रोन’ नामाकरण गरेको छ ।
कोरोनाको नयाँ स्वरुप बी.१.१.५२९ पहिलो पटक नोभेम्बरमा दक्षिण अफ्रिकाको बोत्सवानामा फेला परेको थियो ।
फेला परेको कोरोना भाइरसको नयाँ उत्परिवर्तित स्वरुपका कारण सङ्क्रमण दरमा वृद्धि भएपनि चिन्ताको विषय भने नरहेको सङ्गठनले जनाएको छ ।
सङ्गठनका अनुसार नयाँ भेरिएन्टको सुरुवाति जाँचको क्रममा यसले फेरी सङ्क्रमणदर बढाउने र दक्षिण अफ्रिकाको लगभग सबै प्रान्तमा पुष्टि भइसकेको छ ।
यसैबीच, इजरायल सरकारले स्वास्थ्य आपतकाल लगाउने तयारी गरेको छ । दक्षिण अफ्रिकाको मालावीबाट आएका एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएपछि स्वास्थ्य आपतकाल लगाउने तयारी गरिएको हो ।
इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले मालावीबाट आएका एक जनामा कोरोनाको नयाँ भेरिएन्ट फेला परेको हुँदा थप सतर्कता अपनाउँदै स्वास्थ्य आपतकाल लगाउने तयारी भइरहेको बताए ।
उनले यो भेरिएन्ट कति सङ्क्रामक छ र यसले कतिसम्मको गम्भीरता गराउँछ भनेर थाहा नभएकाले जोखिम कम गर्न स्वास्थ्य आपतकालको तयारी भएको पनि प्रष्ट पारे ।
यस्तै, युरोपियन युनियनले पनि दक्षिण अफ्रिकामा फेला परेको नयाँ भेरिएन्टपछि अन्तर्राष्ट्रिय उडानमा कडाई गरेको छ । बाहिरबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमसहित युरोप प्रवेश गर्नेलाई कडाई गरिएको हो ।
त्यसैगरी अमेरिकाले पनि दक्षिण अफ्रिकाबाट आउने उडानलाई तत्कालका लागि रद्द गर्ने निर्णय गरेको छ ।