स्तन क्यान्सरका कारण महिला मात्रै नभई पुरुषपनि पीडित, जानौं यसका लक्षणहरु
यतिबेला स्तन क्यानसर सम्बन्धी जनचेतना–जगेर्ना अभियानका साथ विश्वभर स्तन क्यान्सर सचेतना महिना मनाइँदैछ । अक्टुबर महिनाभरि मनाइने यस अभियानमा सबैलाई जुट्न सरोकारवाला निकायले आग्रह गरिरहेका छन् ।
अधिकांशको बुझाइ छ की स्तन क्यान्सर महिलामा मात्रै हुने रोग हो । तर, पछिल्लो समय विश्वका विभिन्न संस्थाहरूले गरेको अध्ययन रिर्पोट अनुसार पुरुषमा पनि स्तन क्यान्सरको जोखिम तिव्र गतिमा बढिरहेको छ । सन् १९८५ देखि २००७ को बीचमा मोरक्कोको नेशनल इन्स्टिच्युट अफ अन्कोलोजी इन रबट (एनआइओआर) ले गरेको अध्ययन अनुसार यो अवधिमा १ सय २७ पुरुषमा स्तन क्यान्सर देखिएको थियो । अध्ययनको निचोड छ की पुरुषमा हुने क्यान्सरहरु मध्ये स्तन क्यान्सरको अंश एक प्रतिशत छ ।
धेरैजसो देशमा पुरुषमा हुने स्तन क्यान्सर परीक्षणका लागि मैमोग्राम सेवा छैन । विश्व स्वास्थ्य संगठनका लागि यो अध्ययन रिर्पोट तयार पार्ने विज्ञ बर्नाड स्टीवर्टका अनुसार अब सरकारहरुले यस विषयमा पनि सोच्नु पर्ने बेला आइसकेको छ ।
स्तन क्यान्सर रोग विशेषज्ञ डा.प्रफुल्ल शाक्यका अनुसार नेपालमा पनि पुरुषहरुमा स्तन क्यान्सर देखिन थालेको छ । उनले नेपालमा पनि पछिल्लो समय पुरुषहरुमा पनि स्तन क्यान्सर देखिन थालेको र विस्तारै यो दर बढ्दै गएको बताए ।
नेपाल क्यान्सर अस्पतालमा हालसम्म झन्डै १० देखि १२ जनाको हारहारीमा स्तन क्यान्सरबाट पीडित पुरुषहरु उपचारका लागि आउने गरेको भन्दै उनले महिलामा जस्तै पुरुषहरुमा पनि लक्षणहरु देखिने गरेको बताए ।
डा= शाक्यका अनुसार उमेर बढेसँगै धेरै पुरुषको छातीमा गाँठागुठी देखिन थाल्छ । तर यसलाई बेवास्ता गर्नु हुँदैन । यदि गाठागुठीलाई चलाउँदा दुख्दैन भने यो स्तन क्यान्सरको लक्षण हुनसक्छ ।
डा. शाक्य भन्छन् पुरुषमा यस्ता लक्षण देखिए स्तन क्यान्सर हुनसक्छ :
- छाती चिलाउने ।
- निप्पल भित्र धस्सिनु ।
- निप्पलमा दुख्नु ।
- निप्पलबाट दुध आउनु ।
- निप्पलको आसपास धब्बा देखिनु ।
- छातीको आकारमा बदलाव आउनु ।
- निप्पलबाट रगत आउनु ।
विश्व स्वास्थ्य संगठन के भन्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले कै गतिमा पुरुषमा क्यान्सर बढ्दै गयो भने सन् २०३० सम्ममा विश्वका हरेक पाँच मध्ये एक जनालाई ७५ वर्ष अघि नै क्यान्सर हुनेछ । मृत्यु हुने हरेक ८ मध्ये एक जना क्यान्सरपीडित हुनेछन् । पश्चिमा देशमा क्यान्सरको जोखिम तिब्र गतिमा फैलिरहेको छ । हरेक आठ मध्ये एक महिलालाई स्तन क्यान्सर हुनेछ ।
जर्मन सोसाइटी अफ यूरोलाजीका प्रोफेसर सबिने क्लिसका अनुसार जर्मनीमा हरेक वर्ष ६ सय भन्दा बढी पुरुषमा स्तन क्यान्सरसम्बन्धी समस्या देखिन्छ । जबकी यहाँ हरेक वर्ष ७४ हजार पाँच सय महिलामा स्तन क्यान्सर हुने अध्ययनले देखाएको छ । तर पनि पुरुष क्यान्सरको बारेमा सजग हुन ढिलाई गर्नु नहुने बताउँछन् प्रोफेसर क्लिस ।