गाँजाबारे घोत्लिँदा देखेको तथ्य



Download our app to get more features

आफू सानो छँदा भोक जगाउने भनी भाङ मिश्रित पोष्टकारी खुवाउने चलन रहेको मलाई याद छ । यस्तो पोष्टकारीले लाग्छ भन्थे । मन्दिर र घाटहरुमा आफ्नै सूरमा गाँजा तान्दै लठ्ठ परी बस्ने गजेडीहरु पनि देखेको छु । शिबरात्री र होलीमा परसादी भनी यसको सर्को तानेर बेशर्मी तरीकाले खित्का छाड्ने तन्नेरी किशोरीहरुको पनि कुरा सुनेको छु ।

टेन्सन भो, बोर भो, सप्ताहन्तको उत्सव छ, आदि भन्दै सिनियर, साथीभाई, कतिपय केटीहरु समेत गाँजामा डुबेको र होस्टेलमा गाँजाको गन्ध फैलिने गरेको म चिकित्सा शिक्षाको विद्यार्थी रहँदाको याद पनि छ । तीमध्ये कतिपय त्यो बेला अचम्म पाराले हराएका, अहिले पनि सम्पर्कमा नरहेका र दिमाग गड्बड् भएर पढाइबाटै पलायन भएका धुमिल तर एकखालको रहस्यमयी दुःखद् स्मृति पनि यो मनमा छ ।

गाँजा सेवनका अनुभवका साहित्य, गाँजा पक्षका मिडिया, कभरेज, सिर्जना भन्दै लत र दुव्र्यसन ब्यवहारलाई हौंस्याउने, मलजल गर्ने तथा आलाकाँचा मनका कौतुहललाई बढाएर आफूतिर खिँच्ने बिज्ञापने सामग्रीहरु आफ्नो अभिष्टका लागि अति तिब्र, प्रभाबकारी र मनोहारी पाउँछु । उनीहरुका तर्क, बुँदाहरु मन छुने र आग्रहले मन पगाल्ने खालका लाग्छन् । उनीहरु गाँजा खेती, गाँजा निर्यात, गाँजामा आधारित पर्यटन र विकासका सुनौला सपनाहरुका कुरा गर्छन् । भोका, नांगा, अशिक्षित, अभावग्रस्त नेपाली मनहरुभित्र समृद्धि र स्वच्छन्दताका सपना हावामा बुन्छन् र बाँध्छन् । सायद, उनीहरुलाई यस्ता दिग्भ्रमित मनहरुले वास्तवमा भोग्ने परिणति र नियतिसँग कुनै सरोकार र मतलब छैन ।

मनोचिकित्साको एमडी गरिराख्दा ड्युटीमा अरु मानिसहरु मात्र होइनन्, मेडिकल स्टुडेन्टहरु नै पनि गाँजा सेवन गरी डराउने, चिच्याउने र प्यानिक भई इमर्जेन्सीमै पनि ल्याएको नदेखेको होइन । एमडी सकिएपछि गरेको चिकित्सा विज्ञानका विद्यार्थीहरुको मनोस्वास्थ्य सम्बन्धी एक अनुसन्धानको क्रममा धेरै सहभागी विद्यार्थीहरुकै मुखबाट गाँजा समस्या विद्यार्थीहरु र होस्टेलमा कति ब्यापक र गम्भीर भन्ने जानकारी पनि पाइयो । केटाहरु मात्र होइनन्, अध्ययनको लागि अभिभावकहरुदेखि दूर होस्टेलमा रहने कति विद्यार्थी केटीहरु माझ पनि यो ब्यापक रहेछ ।

मनोचिकित्सा सेवा र शिक्षणको दौरानमा अन्तरंग, बहिरंग, आकस्मिक र अरु सेवाहरुमा लगभग हर दिन बिक्षिप्त, अस्वस्थ, बिकृत, असन्तुलित मनहरुलाई नजिकबाट केलाउने कर्ममा मनलाई यसरी खजमज्याउने, रोगी बनाउने कारक तत्वहरुमा कुनै न कुनै रुपमा गाँजा रहेको साक्षी बनिरह्यो यो मन ।

गाँजाका उपयोगिताका बढाइचढाइँमा आदरणीय, गहकिला, क्षमतावान र विश्वासनीय लाग्ने बुद्धिजीवी, नेतादेखि लेखक आदिहरुले अति चित्ताकर्षक, विश्वशनीय र बैज्ञानिक प्रतित हुने प्रभावकारी पारामा बेलाबेलामा लेखिरहे, राग अलापिरहे, मिडियाबाजी गरिरहे । कतिपय उच्च शिक्षित आफन्त र अरु ब्यक्ति तथा बिरामीहरुले समेत विभिन्न स्वास्थ्य समस्या भनेजस्तो सुधार भएन भने, यताउता सुनेपढेको≤ मारिजुआना कसो होला भनी सोधेका छन् मलाई । हालसालै त झन् यसको चिकित्सकीय प्रयोगलाई कानुनी बैधानिकता दिने प्रसंगले उछाल आएको देखिन्छ ।

कोविडको यस्तो महामारीमा सुद्धा यसको चर्चा चुलियो भने अर्कोतिर आफूले सेवा दिने मानसिक रोगीहरुमा गाँजाले जीवन, जगत, समाज र भविष्य तहसनहस भएका परिदृश्यहरु एकपछि अर्को गर्दै लाम लागेर आइरहे । लकडाउनमा समेत, अब त अलि कम होला भन्यो, हुँदैन । बरु अरु नशालुपदार्थको सेवन र केसहरु केहि घटे, गाँजाके मारा केसहरु कम भएको देखिएन ।

एकातिर गाँजा सेवन गर्न लालायित बनाउने तत्वहरु सशक्त छन् भने अर्कोतिर हरदिन यसको सेबनले दिलदिमाग, जीवन, जगत र भविष्य भताभुंग भएका भग्नहरुका साक्षी बनी त्यसबाट निस्कन सघाउनुपर्ने रोल्, उफ् Û यस्तो अन्तरबिरोधी परिस्थितिका बीच मथिंगल तात्तिइनै रहेको थियो । यो लेख लेख्न बसेको कोविड महामारीको निशेधाज्ञा भैरहेको दिन नै पनि मानसिक समस्या भई वार्डमा भर्ती भएका झण्डै एकचौथाइभन्दा बढी बिरामीहरुमा गाँजासेवन भएको र मानसिक समस्यामा कुनै न कुनै रुपमा रोल खेलेको म देख्तछु । भएन, अब, अलि निर्दिष्ट तर तटस्थ रुपमा गाँजाका उपयोग र हानीबारे प्रमाणहरुको अध्ययन गर्नुप¥यो भन्ने मनमा योजना बनाएँ । सोंच अनुसार अरु तीन जना जुझारु चिकित्सक भाईहरु सहित एउटा अध्ययन टोली बन्यो । चिकित्सा विज्ञानमा रहेका प्रमाणहरु खोतल्दै विभिन्न स्नायुरोगहरु, मानसिक रोगहरु र अरु स्वास्थ्य समस्याहरुमा गाँजाका केकस्ता उपयोगिता र हानी छन् भनी प्रमाणहरु संकलन ग¥यौ । एउटा जर्नल आर्टिकल पनि बन्यो र प्रकाशित भयो । त्यसै क्रममा मनोस्वास्थ्यको हिसाबले, मनोचिकित्सकका रुपमा राख्नैपर्ने कुराहरुलाई छुट्टै केश रिपोर्टका रुपमा राख्ने जमर्को पनि गरिरहेका छौं ।

यहाँ, त्यसै लेखका आधारमा गाँजा, यसका उपयोग र हानीबारे संक्षेप चर्चा गरी यसबारे आफूलाई महत्वपूर्ण लागेका केहि सारसन्देस राख्तैछु । आफू, आफ्ना प्रियजन र सन्ततिका लागि यसबारे गहिरिएर सत्यतथ्य जान्न, बुझ्न, मनन् गर्न र सजग रहन यसले झक्झकाएछ भने मेरो यो उकुसमुकुसबाट उठेको कदमले सार्थक रुप लिएछ भन्ठान्नेछु । र, पाठकबृन्दले पनि यस प्रसंगलाई डस्टबिनमा होइन मनको एक कुनामा चेतनाको एक बुँदका रुपमा आफू र अरुका लागि राख्नुहनेछ भन्ने भरोसा लिएको छु । आफूलाई परेपछि नै मात्रै सोच्ने, आफ्ना कोहि प्रियजन यसको चंगुलमा परेर भताभुंग भएपछि पछुताउ नै मात्रै गर्ने होइन, बरु सबैतिर सदाकाल यसबारे सजग हुन आवश्यक देखेको छु । मलाई राम्ररी थाहा छ, मनलाई लत लगाउने, मनोहारी बिज्ञापन वा सामाजिक सञ्जालको क्षणिक इन्द्रिय सुख दिने सामग्री होइन यो । यो मनन् गरेर पढ्नु, समय लगाएर घोत्लिनुपर्ने र आफ्नो रोल खेल्न झक्झकाउने धेरैलाई रिस, बोर वा दिक्क लाग्ने सामग्री हुनसक्छ । तर, आफूले देखेको नराखी बस्न नसकेर यहाँ राखेको छु । बाँकी, यो कुरा पढ्ने तपाईंहरुको जिम्मा । यो कुरा फास्फुस्स पारेर छाड्ने कि यसबारे सजग भएर सहि कुराको पक्ष लिने भन्ने ।

विशेष खालका छारेरोग, डिमेन्सिया, मल्टिपल स्क्लेरोसिस जस्ता स्नायुरोगहरुमा गाँजामा हुने तत्वहरु केहि हदसम्म कुनैकुनै कोणबाट लाभकारी भेट्टिएको उल्लेख छ । त्यस्तै, उल्टी, दुःखाई विशेष गरेर क्यान्सरको दर्द र आँखाको कुनै कु्नै रोगमा केहि हिसाबले लाभकारी भन्ने देखिएको छ । यी उपयोगिताको पुष्टि छिटपुट रुपमा देखिएको हो, बैज्ञानिक हिसाबले प्रमाण पुग्ने स्थितिका देखिन्नन् । थप अनुसन्धान नगरी अहिलेकै अवस्थामा तिनको उपयोग गर्न सकिने गुन्जाइस देखिन्न । जुन समस्याका लागि गाँजाको उपयोगको कुरा हुँदैछ, तिनका लागि पहिले नै बेहत्तर विकल्प र उपायहरु बिकास भैसकेको अवस्थामा गाँजाको उपयोग गर्ने कुरा उठाउनुको पनि तुक देखिन्न । क्यान्सर जस्तो रोगमा एउटाको लागि छिटपुट रुपमा लाभ देखिएकै अवस्थामा पनि अर्को त्योभन्दा खतरनाक असर वा क्यान्सरको सम्भावना बढेको पनि देखियो । अहिलेको कोविडमा पनि गाँजाको कुरा उठेको देखिन्छ । गाँजामा भएको एउटा तत्व केहि हदसम्म -जसको लागि अर्को तत्वको असरको खतरा मोल्न सकिने देखिँदैन ।_ कोविडका केहि लक्षणमा लाभकारी हुनसक्ने संकेत देखिएपनि अर्को तत्व बडो खतरनाक साबित हुने देखिएको छ ।

गाँजाको उपयोग मानसिक स्वास्थ्यका हिसाबले हानिकारक देखियो । पागलपन, एन्जाइटी, उदासिन र बाइपोलर जस्ता रोगहरुसँग यसको प्रष्ट नाता देखियो । मनोसामाजिक समस्या, सडक दुर्घटना, अरु नशालुपदार्थको दुव्र्यसन, प्रजनन शक्तिको ह्रास र निद्राको समस्यामा गाँजाको रोल देखिन्छ । गाँजाको प्रयोगले यदाकदा मुटुमा अरु समस्या नभएका मानिसको पनि मृत्यूसम्म भएको उल्लेख छ । यस हिसाबले, गाँजाका विविध खतरा, हानी वा प्रतिकूल असरहरुका लागि भने दसि अपर्याप्त देखिन्न । समग्र स्वास्थ्य बिना, मानब जीवन, समाज र भविष्यको भलो हुनसक्तैन । समग्र स्वास्थ्यको दृष्टिकोणबाट अब हामी प्रष्ट होऔं, कुनैपनि रुपमा गाँजाको सेवन वा प्रयोग गर्ने सल्लाह दिन लिन सकिँदैन, गाँजाको सेवन गर्नुहुँदैन । कुनै रोगमा गाँजा वा यसमा भएका कुनै तत्वको उपयोग गर्ने अवस्था आइहालेमा पनि निक्कै सोचबिचार र अनुसन्धान गरी प्रमाण जुटाउन आवश्यक देखिन्छ ।    

 

 

(डा.शाक्य एमडी, वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन्।)
Email- [email protected]


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts