विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २३ करोड नाघ्यो, थप ८ हजारभन्दा बढीको मृत्यु
एजेन्सी, ६ असोज । विश्वभर कोरोना भाइरसका कारण संक्तमित हुनेको संख्या २३ करोड नाघेको छ ।
कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा ४ लाख ५६ हजार ४ सय ५७ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २३ करोड २ लाख ७९ हजार ३ सय ३२ पुगेको छ ।
गत २४ घन्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १ लाख २० हजार ५ सय ७९, बेलायतमा ३१ हजार ५ सय ६४, टर्कीमा २९ हजार ३ सय ३८ र भारतमा २७ हजार ३ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । तर, ब्राजिलमा महिनौंपछि संक्रमणदर शून्य रहेको छ ।
कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित मुलुकमध्येको ब्राजिलमा पहिलोपटक संक्रमणदर शून्य देखिएको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर थप ८ हजार २ सय ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमा सबैभन्दा धेरै अमेरिकामा १ हजार ९ सय २७, रुसमा ८ सय १२, ब्राजिलमा ४ सय ८४, भारतमा ३ सय ८५ र ईरानमा ३ सय ७९ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ लाख २१ हजार ६ सय ८८ पुगेको छ ।
गत २४ घन्टामा विश्वभर रहेका सक्रिय संक्रमितमध्ये थप ५ लाख ८ हजार ३ सय ४१ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २० करोड ७ लाख ५ सय ८८ पुगेको छ ।