भारतको उत्तर प्रदेशमा डेंगु र भाइरलको सङ्क्रमण तीव्र गतिमा फैलिँदै, उपचारमा समस्या
भारत, १९ भदौ । भारतको उत्तर प्रदेश राज्यमा डेंगु र भाइरलको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ ।
उत्तर प्रदेशको विभिन्न सहरहरुमा ज्वरो, टाउके दुख्ने जस्ता लक्षणसहित अस्पताल आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताइएको छ । हालसम्म उत्तर प्रदेशमा डेंगु र भाइरलका कारण ५२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
डेंगु र भाइरलका कारण सबैभन्दा बढी बालबालिका प्रभावित बनेका छन् । हालसम्म ३४ जना बालबालिकाको मृत्यु भइसकेको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि कोरोना नरहेको पाइएपछि स्क्रब टाइफसको परीक्षण गर्दा सङ्क्रमण पत्ता लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उत्तर प्रदेशको फिरोजावाद सहर स्क्रब टाइफसका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । फिरोजावादका मेडिकल अस्पतालमा मात्रै ३ सय २५ जना भर्ना छन् । बेड संख्या सय रहेको अस्पतालमा आवश्यकता भन्दा बढी बिरामी आउन थालेपछि उपचारमा पनि समस्या हुन थालेको छ ।