कोरोनाको डेल्टा भेरिएन्टका कारण अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या दुई गुणा बढीः अध्ययन
एजेन्सी, १३ भदौ । कोरोना भाइरसको डेल्टा भेरिएन्टका कारण अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या दुई गुणा बढी रहेको एक अध्ययनले देखाएको छ ।
बेलायतमा भएको एक अध्ययन अनुसार कोरोनाको डेल्टा भेरिएन्टका कारण बिरामी भएर अस्पताल भर्ना हुने दर दुई गुणा रहेको पाइएको हो ।
द ल्यासेन्ट नामक जर्नलमा प्रकाशित अध्ययनमा कोरोनाको खोप लगाएकाहरुमा पनि डेल्टाले सङ्क्रमण गराएको तर, मृत्यु हुनेदर कम रहेको उल्लेख गरिएको छ ।
कोरोनाविरुद्धको खोप लगाएरपनि अस्पताल भर्ना हुनेको सङ्ख्या बढी रहेपनि डेल्टा भेरिएन्टले मृत्यु हुने जोखिमलाई कम गरेको अध्ययनमा उल्लेख गरिएको छ ।
पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्टका कारण मानिसहरु बढी सङ्क्रमित हुने थालेको र विश्वकै लागि चिन्ताको विषय बनेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।
बेलायत, अमेरिका, इन्डोनेशिया, भारत, रुस लगायतका विभिन्न मुुलुकमा कोरोनाको डेल्टा भेरिएन्टका कारण कोरोनाको तेस्रो लहर सुरु भएको छ ।
मेडिकल पब्लिक हेल्थ इंग्ल्यान्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा यसै वर्षको मार्च र मे महिनाको बीचमा गरिएको अध्ययनमा ४३ हजार ३ सय ३८ जनालाई सहभागि गराइएको थियो । जसमा कोरोनाको डेल्टा र अल्फा दुबै भेरिएन्टका कारण सङ्क्रमित भएका व्यक्तिहरु रहेका थिए ।
अध्ययनमा सहभागि अधिकांश त्यस्ता व्यक्ति थिए जसले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । अध्ययनका अनुसार अधिकांश बिरामीलाई अस्पतालको आवश्यकता परेन । जबकी डेल्टा भेरिएन्टका कारण सङ्क्रमितमध्ये १ सय ९६ (२ दशमलव ३ प्रतिशत) र अल्फा भेरिएन्टका कारण सङ्क्रमित ७ सय ६४ (२ दशमलव २ प्रतिशत) लाई अस्पताल जानुपरेको थियो ।