अमेरिकामा कोरोना संक्रमणको दर बढ्यो, विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ लाख नजिक



Download our app to get more features

एजेन्सी, १२ भदौ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ लाख नजिक पुगेको छ ।

पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेदर बढेसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेदर बढ्दो क्रममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

अमेरिका, इन्डोनेशिया, ईरान, ब्राजिल, भारत, रुस लगायतका मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर पछिल्लो समय उकालो लाग्न थालेको छ । 

गत २४ घन्टामा विश्वभर ९ हजार ९ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमा अमेरिकामा सबैभन्दा धेरै १ हजार ३ सय ४, ब्राजिलमा ७ सय ९१, रुसमा ७ सय ९८, भारतमा ५ सय १४, मेक्सिकोमा ८ सय ३५, इन्डोनेशियामा ५ सय ९९ र ईरानमा ५ सय ७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ लाख ९९ हजार २ सय ७३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ७ लाख १३ हजार ८ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । 

कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा फेरि दैनिक झन्डै २ लाखका दरले नयाँ संक्रमित थपिन थालेका छन् । गत २४ घन्टामा अमेरिकामा सबैभन्दा धेरै १ लाख ९० हजार ३ सय ७० जनामा कोरोना पुष्टि भएको छ । 

यस्तै भारतमा ४६ हजार ८ सय ५, २७ हजार ३ सय ४५, बेलायतमा ३८ हजार ४६, ईरान ३६ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २१ करोड ६२ लाख २८ हजार ७४ पुगेको छ ।

गत २४ घन्टामा विश्वभर ५ लाख ३० हजार ८ सय ५५ जना संक्रमित स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १९ करोड ३२ लाख १५ हजार ८ सय ५७ पुगेको छ ।

Last modified on 2021-08-29 06:48:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts