फाइजरले उत्पादन गरेको कोरोना खोपलाई पूर्ण स्वीकृति, १६ वर्षभन्दा माथिकालाई लगाउन सकिने
एजेन्सी, ८ भदौ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले कोरोनाविरुद्धको खोप फाइजरलाई पूर्ण स्वीकृति दिएको छ । योसँगै फाइजर अमेरिकामा पूर्ण स्वीकृति पाउने पहिलो कोरोनाविरुद्धको खोप पनि बनेको छ ।
दुई डोज लगाउनुपर्ने फाइजर खोपलाई एफडीएले गत डिसेम्बरमा आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।
अमेरिकी खोप उत्पादक कम्पनी फाइजरले विकास गरेको यो खोप १६ उमेर पुगेका र सोभन्दा माथिकालाई लगाउन सकिनेछ ।
एफडीएका अनुसार हालसम्म अमेरिकामा ४४ हजारमा यो खोप लगाइएकोमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ ।
यस्तै फाइजर खोपलाई १२ देखि १५ वर्ष उमेर समूहलाई भने आपतकालीन प्रयोगका लागि स्वीकृति दिइएको छ ।
अमेरिकी जनस्वास्थ्य अधिकारीहरूले फाइजर खोप प्रभावकारी रहेको र यस कार्यले कोरोनाविरुद्धको खोपसम्बन्धी रहेका आशंकाहरू चिर्न मद्दत पुग्ने अपेक्षा गरेका छन् ।
फाइजरले पूर्ण स्वीकृति पाएपछि लाइसेन्सपनि प्राप्त गरेको छ ।