भारतमा एकै दिन २५ हजार संक्रमित थपिँदा ठीक हुनेको संख्या ४४ हजार माथि
काठमाडौं, ७ भदौ । भारतमा पछिल्लो २४ घन्टामा २५ हजार ७२ जनामा कोभिड १९ को संक्रमण पहिचान भएको छ। भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार यस अवधिमा ४४ हजार १ सय ५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणकै बिचमा मृत्यु हुनेको संख्या ३ सय ८९ रहेको छ।
यससँगै भारतमा कोभिड १९ संक्रमित हुने कूल संख्या ३ करोड २४ लाख ४९ हजार ३ सय ६ पुगेको छ। यीमध्ये ठीक हुनेको संख्या ३ करोड १६ लाख ८० हजार ६ सय २६ रहेको छ। अहिले भारतमा एक्टिभ केस ३ लाख ३३ हजार ९ सय २४ रहेको छ। कोभिड संक्रमणकै बिच ज्यान गुमाउनेको संख्या भारतमा ४ लाख ३४ हजार ७ सय ५६ रहेको छ।
पछिल्लो २४ घन्टामा भारतमा ७ लाख ९५ हजार ५ सय ४३ जनाले कोभिड १९ विरुद्धको खोप पाएका छन्। यससँगै भारतमा खोप लगाउनेको जनसंख्या ५८ करोड २५ लाख ४९ हजार ५ सय ९५ पुगेको छ ।