अमेरिका र इन्डोनेशियामा कोरोनाका कारण मृत्यु हुनेदर बढ्यो, विश्वभर २१ करोडभन्दा बढी संक्रमित
एजेन्सी, ५ भदौ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ लाख २८ हजार नाघेको छ ।
पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्यामा वृद्धि हुन थालेको छ ।
कोरोना सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार पछिल्लो एक महिनादेखि लगातार कोरोनाका कारण मानिसहरुको मृत्युु हुनेको संख्या औसतमा १० हजारको दरले हुने गरेको छ ।
गत २४ घन्टामा मात्रै विश्वभर १० हजार २ सय ७७ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिका र इन्डोनेशियामा मृत्यु भएको वर्ल्ड मिटरको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी इन्डोनेशियामा १ हजार ३ सय ४८ र अमेरिकामा १ हजार ५९ जनाको मृत्यु भएको छ ।
यस्तै ब्राजिलमा ९ सय २५, मेक्सिकोमा ८ सय ५०, रुसमा ७ सय ८५ र ईरानमा ५ सय ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ लाख २८ हजार २ सय ३० पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ८५ हजार २ जना नयाँ संक्रमित थपिएका छन् भने ५ लाख १४ हजार ३ सय ५९ जना स्वस्थ भएका छन् ।
योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २१ करोड १५ लाख ८२ हजार ३ सय ५५ पुगेको छ भने १८ करोड ९३ लाख ३१ हजार ४ सय २ जना स्वस्थ भएका छन् ।