अमेरिका र बेलायतका बालबालिका कोरोना तेस्रो लहरबाट धेरै प्रभावित
एजेन्सी, २७ साउन । अमेरिका र बेलायतका बालबालिकाहरूमा पहिलो र दोस्रो लहरको दाँजोमा अहिले कोरोना संक्रमण बढेको छ । अमेरिकाको अलाबामा, अरकन्सास, लुसियाना र फ्लोरिडामा १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा संक्रमण बढेको हो ।
अरकन्सासस्थित बाल अस्पतालमा संक्रमणका कारण भर्ती हुने बालबालिकाको संख्या झन्डै ५० प्रतिशतले बढेको छ । त्यस्तै लुसियानामा जुलाईको अन्तिम साता सर्वाधिक ४ हजार २ सय ३२ बालबालिकामा संक्रमण देखिएको छ ।
त्यस्तै फ्लोरिडाको स्वास्थ विभागका अनुसार १२ वर्षभन्दा कम उमेरका १० हजार ७ सय ८५ जना संक्रमित भएका छन् । १२ देखि १९ वर्ष उमेरका ११ हजार ४८ बालबालिकामा संक्रमण देखिएको छ । बेलायतमा हरेक दिन औसत ४० बालबालिकाहरु अस्पतालमा भर्ती भइरहेका छन् ।
इम्पेरियल कलेज अफ लण्डनका पिडियाट्रिक संक्रामक रोग विशेषज्ञ डाक्टर एलिजावेथ व्हिटकरले अमेरिका र बेलायतमा १२ वर्षभन्दा कम उमेरका बच्चाहरु संक्रमित हुने दर बढेको बताएका छन् ।