भारतमा कोरोना संक्रमितको संख्या तीन करोड २० लाख नजिक
काठमाडौं, २४ साउन । कोभिड-१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड संक्रमितको संख्या तीन करोड २० लाखको नजिक पुगेको सरकारी तथ्यांकले देखाएको छ ।
आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड-१९ संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ३९ हजार ७० रहेको र योसँगै अहिलेसम्म कोभिड संक्रमण पुष्टि भएका व्यक्तिको संख्या तीन करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड संक्रमितको मृत्यु भएको छ । महामारी सुरू भएपछि अहिलेसम्म भारतमा मृत्यु भएका कोभिड संक्रमित विरामीको संख्या चार लाख २७ हजार ८६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ३३१ व्यक्ति कोरोना संक्रमणमुक्त बनेका छन् । योसँगै भारतभर कोभिड-१९ का सक्रिय संक्रमितको संख्या चार लाख छ हजार ८२२ रहेको छ ।
भारतमा कोभिड-१९ संक्रमितमध्ये तीन करोड १० लाख ९९ हजार ७७१ व्यक्तिमा कोरोना संक्रमण भई निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिडको उपचार गराइरहेका ४३ हजार ९१० जना निको भई अस्पतालबाट घर फर्किएका छन् ।-रासस