भारतमा थप ४१ हजार ६४९ काेराेना संक्रमित

काठमाडौं, १६ साउन । भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६४९ जना नयाँ संक्रमित भएका हुन्।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख आठ हजार ९२० जना संक्रमित अवस्थामै रहेका जनाएको छ। संक्रमित अवस्थामै रहेकाको यो संख्या कूल संक्रमितको १.२९ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल संक्रमितको संख्या तीन करोड १६ लाख १३ हजार ९९३ जना पुगेका छन्। भारतमा अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने तीन करोड सात लाख ८१ हजार २६३ रहेको छ।
तीमध्ये ३७ हजार २९१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन्। एकैदिनमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या थोरै भएकाले अहिले सक्रिय संक्रमितको संख्या अघिल्लो दिनभन्दा बढी भएको छ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ। तीमध्ये ५९३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
भारतमा अहिलेसम्म ४६ करोड ६४ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४६ करोड १५ लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ।