एक सातामा भुटानमा ९० प्रतिशतभन्दा बढीले लगाए कोरोना खोप
            काठमाडौं, १५ साउन । नेपालको छिमेकी तथा भारत र चीनको बीचमा रहेको हिमाली मुलुक भुटानले लगभग सबै योग्य जनसङ्ख्यालाई कोभिड १९ विरुद्ध खोप लगाइसक्न लागेको छ। भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार मात्र सात दिनभित्र ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पूर्ण रूपमा खोप लगाइसकेका छन्।
भुटानमा आठ लाख मानिस बसोबास गर्छन्। भुटानमा वयस्क जनसङ्ख्या ५ लाख ३० हजारको हाराहारी रहेको छ । भुटानको खोप कार्यदलका अनुसार पहिलो मात्रा लगाउनेको सङ्ख्या लगभग ९९ प्रतिशत पुगेको छ भने योग्यमध्येमा दोस्रो मात्रा लगाउने ९२ प्रतिशत पुगेका छन् । देशभरि गरेर १ हजार २ सय २० वटा खोपकेन्द्र बनाइएको थियो भने ती केन्द्रमा करिब ३ हजार ५ सय खोप कार्यकर्ता परिचालित थिए।
भूपरिवेष्टित भुटानले गत मार्चमा भारतबाट साढे पाँच लाख मात्रा खोप प्राप्त गरेको थियो। त्यसपछि गत एप्रिलको एक सातामा अधिकांश योग्य वयस्क जनसङ्ख्यालाई खोप लगाइएको थियो । त्यस्तै भुटानले अमेरिकाबाट पाँच लाख मात्रा मोडेर्ना दुई युरोपेली देशबाट साढे दुई लाख मात्रा आस्ट्राजेनेका खोप प्राप्त गरेको थियो ।
त्यसपछि भुटानमा जुलाई २० देखि दोस्रो मात्रा खोप लगाउन सुरु गरेको थियो । भुटानमा कोभिडका कारण हालसम्म २ हजार ५ सय संक्रमण र दुईको मृत्यु भएको विवरण छ ।
 
                
                
                                    