अमेरिका, रुस, इन्डोनेशिया लगायतका मुलुकमा फेरि कोरोनाको दर बढ्यो
विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या साढे ४१ लाखभन्दा बढी
एजेन्सी, ८ साउन । विश्वभर फेरि कोरोना संक्रमण र मृत्यु हुने दर वृद्धि भएको छ ।
अमेरिका, बेलायत, इन्डोनेशिया, ब्राजिल लगायतका मुलुकमा कोरोना संक्रमण र मृत्यु हुने दर बढेको कोरोना सम्बन्धी तथ्यांक अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरको तथ्याङ्कले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि विश्वभर फेरि कोरोना संक्रमणको दर वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
गत २४ घन्टामा विश्वभर ५ लाख ६४ हजार ६ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार ७ सय ७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
गत २४ घन्टामा सबैभन्दा धेरै मृत्यु हुनेमा इन्डोनेशिया रहेको छ । इन्डोनेशियामा मात्रै गत २४ घन्टामा १ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ ।
यस्तै रुसमा ७ सय ९६, भारतमा ४ सय ८१, दक्षिण अफ्रिकामा ४ सय ३३, मेक्सिकोमा ३ सय ९७ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा पनि पछिल्लो समय कोरोनाका कारण गम्भीर बिरामीको संख्या बढेको छ । गत २४ घन्टामा अमेरिकामा ३ सय ६५ जनाको मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि ४१ लख ५१ हजार ४ सय ५६ पुगेको छ ।
गत २४ घन्टामा अमेरिकामा मात्रै ६१ ह्जार ६ सय ५१, ब्राजिलमा ४९ हजार ६ सय ३, भारतमा ३४ हजार ८ सय ६५, इन्डोनेशियामा ४९ हजार ५ सय ९, ईरानमा २० हजार ३ सय १३, स्पेनमा २९ हजार ५ सय ३५, रुसमा २४ हजार ४ सय ७१ ज्नामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १९ करोड ३४ लाख १० हजार १ सय ६५ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर रहेका कोरोनाका सक्रिय संक्रमितमध्ये ३ लाख ८८ हजार ९ सय ४३ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ करोड ५२ लाख २३ हजार ५ सय ३ पुगेको छ ।