विश्व स्वास्थ्य संगठनले भन्योः सय मुलुकमा फैलियो डेल्टा भेरिएन्ट, प्रतिबन्धमा कडाई गर्नुस्
एजेन्सी, ४ साउन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको डेल्टा भेरिएन्ट विश्वका एक सय मुलुकमा फैलिसकेको बताएको छ ।
संगठनको साउथ–ईस्ट एशियाका क्षेत्रिय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले कोरोनाको डेल्टा भेरिएन्ट पछिल्लो समय तिव्र गतिमा फैलिँदै गएको र हालसम्म यो विश्वका एक सय मुलुकमा फैलिसकेको बताएकी छन् ।
उनले अबको केहि समयमै यो भेरिएन्ट अन्तर्राष्ट्रिय स्तरमा कोभिडको नयाँ स्ट्रेनको रुपमा परिणत हुने भन्दै सचेत रहन आग्रह गरिन् ।
डा.सिंहले डेल्टा भेरिएन्टकै कारण भारतमा दोस्रो चरणको लहरले भयावह स्थिति बनेको र अन्य मुलुकमा पनि यो अब खतरनाक हुँदै गएको बताइन् ।
भारतमै पहिलोपटक फेला परेको डेल्टाको नयाँ म्यूटेशनले नेपाल, बेलायत, इन्डोनेशिया लगायतका मुलुकलाई प्रभावि बनायो ।
संगठनका प्रमुख डा. टेड्रोस एड्हनोम घेबे्रयससले कोरोनाको हालसम्म देखिएको भेरिएन्टमध्ये डेल्टा बढी खतरनाक रहेको हुँदा जारी कडाईंमा छुट नदिन र जनस्वास्थ्यका मापदण्ड लागू गर्न भनेका छन् ।
उनले यसअघि पनि डेल्टा भेरिएन्ट खतरनाक रहेको भन्दै कोरोनाविरुद्धको खोप लगाएकाहरुमा पनि संक्रमण गराउन थालेकाले सबैलाई सचेत रहन आग्रह गरेका थिए ।