विश्वभर कोरोनाका कारण मृत्यु हुने दर बढ्दै, सबैभन्दा धेरै इन्डोनेशियामा मृत्यु
एजेन्सी, २८ असार । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेदर फेरि वृद्धि हुन थालेको छ ।
पछिल्लो एक सातादेखि कोरोनाका कारण मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
झन्डै दैनिक ४ हजारमा झरेको कोरोनाको मृत्यु दर फेरि ७ देखि ८ हजारभन्दा बढीमा पुगेको संगठनले बताएको छ ।
वर्ल्ड मिटरको तथ्याङ्क अनुसार पनि पछिल्लो एक सातादेखि कोरोनाका कारण मृत्यु हुनेदर बढेको देखिन्छ ।
गत २४ घन्टामा थप ६ हजार ३ सय ५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
संगठनले पछिल्लो केहि दिनदेखि बेलायत र ल्याटिन अमेरिकी मुलुकहरुमा कोरोनाका कारण मृत्यु हुने दर बढेकोमा चिन्ता व्यक्त गरेको छ । संगठनले कोरोनाको विभिन्न लहरका कारण यी मुलुकहरु प्रभावित हुन थालेको पनि बताएको छ ।
हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख ४९ हजार १ सय ३९ पगेको छ ।
गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ७, रुसमा ७ सय ४९, भारतमा ७ सय २० जना, ब्राजिलमा ५ सय ९७, कालम्बियमा ५ सय २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै हालसम्म विश्वभर कोरोनाका कारण १८ करोड ७६ लाख ३९ हजार १ सय ९ जना संक्रमित भएका छन् भने १७ करोड १५ लाख ८८ हजार ८ सय ४६ जना कोरोना संक्रमणपछि निको भएका छन् ।
पछिल्लो समय रुस, बेलायत, इन्डोनेशिया, अर्जेन्टिना, कोलम्बिया लगायतका मुलुकमा कोरोनाका कारण संक्रमित हुने र मृत्यु हुने दरमा वृद्धि हुँदै गएको छ ।