अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन ढिला भए पनि समस्या नहुने
बीबीसी, १४ असार । अस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले प्रभावकारी काम गर्ने खोप उत्पादनमा संलग्न विज्ञले बताएका छन् ।
अक्सफोर्डरआस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफोर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले खोपको दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोना भाइरस प्रतिरोधी प्रणाली झ्वाट्टै कमजोर नहुने बताएका छन् । उनले ढिला गरी खोप लगाउँदा प्रतिरोधी प्रणाली अझै दिगो बन्ने बताए ।
उनले ५० वर्षमाथिका मानिसलाई सकेसम्म पहिलो मात्रा खोप दिएर केही खोप उपलब्धताको आधारमा केही ढिला दोस्रो मात्रा दिँदा पनि प्रतिरोधी क्षमतामा असर नपर्ने बताए । तर दोस्रो मात्रा लगाउनु भने अझै राम्रो हुने उनले बताए । उनले अस्ट्राजेनिका खोपले डेल्टा र अल्फा भेरियन्टमा पनि राम्रो सुरक्षा देखाएको बताए ।
नेपालमा झन्डै १४ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा पर्खिरहेको कोभिशिल्ड खोप पनि अस्ट्राजेनेका-अक्सफोर्डले विकास गरेर भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप हो ।
तीन दशकअघि पर्वतारोहणका लागि पहिलो पटक नेपाल आएका पोलार्ड सन् १९९४ मा सगरमाथा आरोहण गर्न आएको ब्रिटिश मेडिकल एक्सपिडिसनका उपनेता पनि थिए ।