विश्वभर कोरोनाका कारण दैनिक मृत्यु हुनेदर घट्दै, यी मुलुकमा संक्रमण दर बढ्यो



Download our app to get more features

एजेन्सी, १४ असार । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुने दर घट्दै गएको छ ।

कोरोना सम्बन्धी तथ्यांक अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा ५ हजार ९ सय ६० जनाको मृत्यु भएको छ । यसअघि २६ जुनमा ७ हजार ५ सय ७९ जनाको मृत्यु भएको थियो । 

पछिल्लो समय दैनिक कोरोना संक्रमणका कारण झन्डै १० देखि १२ हजारको मृत्यु हुँदै आएकोमा गत एक सातादेखि यो संख्या घट्दै गएको वर्ल्ड मिटरको तथ्यांकले देखाएको छ ।

गत २४ घन्टामा विश्वभर मृत्यु हुनेमा सबैभन्दा धेरै भारतमा ९ सय ८१, ब्राजिलमा ७ सय २५, रुसमा ५ सय ९९, कोलम्बियामा ६ सय ६४, अर्जेन्टिनामा २ सय ५१ जना रहेका छन् ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३९ लाख ३८ हजार ७ सय २० पुगेको छ । 

यस्तै विश्वभर कोरोना संक्रमित थपिने दरपनि घट्दै गएको छ । तर, विश्वका विभिन्न मुलुकमा भने कोरोना संक्रमणको दर उकालो लाग्दै गएको छ ।

गत २४ घन्टामा ३ लाख ९ हजार १ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो केहि समयदेखि विश्वभर दैनिक कोरोना संक्रमित थपिने दर ३ देखि ४ लाखमा झरेको छ । 

पछिल्लो २४ घन्टामा विश्वभर थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै भारतमा ४६ हजार ६ सय ४३ जना रहेका छन् । कोरोना महामारीको दोस्रो चरणको लहरका कारण सबैभन्दा बढी प्रभावित मुलुक भारतमा भने दैनिक ४ लाख संक्रमणदर पुगेकोमा हाल त्यो ५० हजारभन्दा तल झरेको छ ।

यस्तै, ब्राजिलमा ३३ हजार ७ सय ४, कोलम्बियामा ३२ हजार ३ सय ७६, रुसमा २० हजार ५ सय ३८ र अर्जेन्टिनामा १२ हजार १ सय ५ जना रहेका छन् । 

विश्वभर थपिएका नयाँ संक्रमितसँगै कोरोनाका कारण संक्रमित हुनेको संख्या १८ करोड १८ लाख ५१ हजार ९ सय ३२ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर २ लाख ९८ हजार ८ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या १६ करोड ६३ लाख ६५ हजार ९ सय ३३ पुगेको छ ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड १५ लाख ४७ हजार २ सय ७९ रहेको छ । जसमा ८० हजार ४ सय ४१ जना गम्भीर बिरामी रहेका छन् ।  

Last modified on 2021-06-28 11:21:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts