डेल्टाको नयाँ म्यूटेशन विश्वका ८५ मुलुकमा फैलियो, खोप लगाएकाहरुमा पनि संक्रमण देखिँदै
एजेन्सी, १२ असार । विश्व स्वास्थ्य संगठनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी जारी गरेको छ ।
संगठनले नियमित कोरोना सम्बन्धी मिडिया ब्रिफिंगको क्रममा डेल्टाको नयाँ म्यूटेशन थप संक्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि संक्रमण गराउन थालेको बताएको छ ।
संगठनका प्रमुख डा. एड्हनोम घेबे्रयससले हालसम्म डेल्टाको नयाँ म्यूटेशन विश्वका ८५ मुलुकमा फेला परिसकेको र खोप लगाएकाहरुलाई पनि संक्रमित गर्न थालेको बताएका हुन् ।
उनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको म्यूटेशन बढी खतरनाक रहेको र यसले विश्वलाई फेरि खतरा तर्फ लिएर जाने भएको सबैलाई सतर्क र सावधान रहन आग्रह गरे ।
उनले भने, ‘कोरोनाको डेल्टा भेरिएन्टले कोरोनाविरुद्धको खोप लगाइसकेकाहरुमा पनि संक्रमण गराउन थालेको र अवस्था जटिल बनाउन थालेको छ । यसले सबैको चिन्ता बढाएको र भने विश्व स्वास्थ्य संगठन पनि चिन्तित छ ।’
डेल्टाको नयाँ म्यूटेशनले विस्तारै विश्वलाई आफ्नो चपेटामा लिन थालेको भन्दै उनले जहाँ जहाँ जन स्वास्थ्यका मापदण्ड खुकुलो बनाइएको छ त्यहाँ त्यहाँ संक्रमणले तिव्रता लिन थालेको हुँदा हामीले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, ‘मुलुकमा जब कोरोना संक्रमणको दर बढ्न थाल्छ अनि अस्पतालमा बिरामी आउने क्रम बढ्ने र स्वास्थ्य सेवा प्रणाली नै तहसनहस हुने गर्छ । जसको सबैभन्दा बढी प्रभाव डक्टर र नर्समाथि पर्ने गर्छ । त्यसकारण अझैपनि जनस्वास्थ्यका मापदण्डलाई खुकुलो बनाउनु हुँदैन ।’
संगठनका अनुसार कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशनका कारण बेलायत, रुस, अर्जेन्टिना, कोलम्बिया लगायतका मुलुकमा तेस्रो चरणको लहर देखिन थालेको ।