डेल्टाको नयाँ म्यूटेशन भारतको ८ राज्यमा फैलियो, महाराष्ट्रमा कडाई
बीबीसी, १२ असार । भारतमा कोरोना भाइरसको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशनका कारण चिन्ता बढाएको छ ।
डेल्टाको नयाँ म्यूटेशनका कारण विभिन्न ८ राज्यमा सङ्क्रमण देखिएपछि चिन्ता बढेको हो ।
कोरोनाको दोस्रो लहर साम्य नहुँदै डेल्टानको नयाँ म्यूटेशनले नयाँ सङ्क्रमित भेटिन थालेपछि केन्द्र सरकारले राज्य सरकारहरुलाई पत्र पठाएर आवश्यक तयारी पूरा गर्न र सोही अनुसारको प्रतिबन्ध लागू गर्न निर्देशन दिएको छ ।
केन्द्र सरकारले डेल्टाको नयाँ म्यूटेशनले फेरि जोखिम बढाउन सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसैबीच, भारतको महाराष्ट्र राज्यको केहि जिल्लामा डेल्टाको नयाँ म्यूटेशनका कारण नयाँ सङ्क्रमित थपिएपछि खुकुलो प्रतिबन्धमा फेरि कडाई गरिएको छ ।
डेल्टाको नयाँ म्यूटेशन चिन्ताको विषय रहेको भन्दै महाराष्ट्र सरकारले प्रतिबन्धमा कडाई गरिने बताएको हो ।
डेल्टाको नयाँ म्यूटेशन हालसम्म विश्वका विभिन्न ११ मुलुकमा फेला परिसेकेको र यो थप सङ्क्रामक रहेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।
संगठनले डेल्टाको नयाँ म्यूटेशनले फोक्सोलाई थप प्रभावित बनाउने र यो भाइरस मोनोक्लोनल एन्टीबडीप्रति प्रतिक्रियामा कमीको कारण बन्दै गएको पनि बताएको छ ।
विज्ञहरुले कोरोनाविरुद्धको खोप अभियान अझैपनि विभिन्न मुलुकमा प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गरेको छ ।
कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको म्यूटेशनका कारण बेलायत बढी प्रभावित बनेको बीबीसीले बताएको छ ।