जापानमा कोरोना नियन्त्रणका लागि जारी आपतकाल सोमवारदेखि हटाउने
एजेन्सी, ४ असार । जापान सरकारले राजधानी टोकियोसहित नौ वटा सहरमा जारी गरेको कोभिड–१९ आपतकाल आगामी सोमवारदेखि हटाउने निर्णय गरेको छ। कोभिड–१९ विरुद्धका प्रतिबन्धात्मक व्यवस्था भने सम्पूर्ण रुपमा अन्त्य हुने छैनन्।
जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो। कोरोना संक्रमण बढेको भन्दै गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो।
यसअघि गत मे ११ मै आपतकाल हटाउने निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो। आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि आपतकाल विस्तार गरिएको थियो। सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावामा भने आपतकाल जारी रहनेछ।
ओकिनामा भने कोभिड-१९ बाट संक्रमितको संख्या बढेकोपछि आगामी जुलाई ११ सम्म आपतकाल कायम रहने सरकारी अधिकारीले जनाएका छन्। देशभित्र कोभिड–१९ बाट संक्रमितको संख्या लगातार न्यून भएको र खोप अभियान तिब्र बनाइएको छ।