ब्राजिलमा फेरि कोरोना संक्रमणको दर बढ्यो, २४ घन्टामा कुन मुलुकमा कति संक्रमित थपिए ?



Download our app to get more features

एजेन्सी, ४ असार । विश्वभर कोरोना संक्रमणको दरमा कमी आएपनि केहि मुलुकहरुमा भने संक्रमण दर फेरि बढ्न थालेको छ ।

कोरोना सम्बन्धी तथ्यांक अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार समग्र विश्वमा कोरोना संक्रमित थपिने दैनिक दरमा कमी आएपनि केही मुलुकहरुमा भने संक्रमण दर बढ्दै गएको छ ।

कोरोनाको हालसम्म देखिएको पहिलो र दोस्रो लहरपछि केहि मुलुकमा कोरोनाको तेस्रो लहरको संकेत देखिन थालेको वैज्ञानिकहरुले बताएका छन् ।

गत २४ घन्टामा विश्वभर ३ लाख ८५ हजार ६ सय ९१ नयाँ संक्रमित थपिएका छन् भने ८ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ ।

गत २४ घनटामा थपिएका संक्रमितमध्ये ब्राजिलमा सबैभन्दा धेरै ७४ हजार ३ सय २७ जना रहेका छन् भने २ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ ।

भारतमा भने अझैपनि दोस्रो लहरको प्रभाव कायमै रहँदा त्यहाँपनि गत २४ घन्टामा ६२ हजार ४ सय २ जना नयाँ संक्रमित थपिँदा १ हजार ३ सय १० जनाको मृत्यु भएको छ ।

तर, कोलम्बियामा भने कोरोनाको तेस्रो लहरको संकेत देखिन थालेको छ । पछिल्लो दुई सातादेखि कोलम्बियामा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ । गत २४ घन्टामा मात्रै कोलम्बियामा २९ हजार ९ सय ४५ जना थपिएका छन् भने ५ सय ९६ जनाको मृत्यु भएको छ । 
यस्तै अर्जेन्टिनामा पनि कोरोनाको तेस्रो लहर सुरु भएको आशंका गरिएको छ । साम्य रहेको संक्रमण दर अर्जेन्टिनामा फेरि उकालो लाग्दै गएको छ । गत २४ घन्टामा मात्रै अर्जेन्टिनामा २३ हजार ७ सय ८० जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय २८ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा पनि पछिल्लो एक सातादेखि दैनिक संक्रमित थपिने दर १० हजार नाघिसकेको छ । गत २४ घन्टामा इरानमा १० हजार २ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ३९ जनाको मृत्यु भएको छ ।

यस्तै रुसमा पनि कोरोनाको संक्रमण दरमा वृद्धि हुन थालेको छ । गत  २४ घन्टामा रुसमा १४ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय १६ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी बेलायतमा पनि कोरोनाको तेस्रो लहरको संकेत देखिन थालेको छ । गत २४ घनटामा बेलायतमा ११ हजार ७ जना नयाँ संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २ सातादेखि कोरोना संक्रमणको दर वृद्धि हुँदै गएको छ । साथै बेलायतमा पछिल्लो समय देखिएको कोरोनाको डेल्टा भाइरस थप संक्रामक बन्दै गएको वैज्ञानिकहरुले बताएका छन् ।

बेलायत लगायत विभिन्न मुलुकमा कोरोनाविरुद्धको खोप मानिसहरुलाई लगाइएपनि यी मुलुकमा कोरोनाको दर बढेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १७ करोड ८१ लाख ८५ हजार ४ सय ८९ रहेको छ भने ३८ लाख ५७ हजार ५ सय ५६ जनाको मृत्यु भइसकेको छ । जबकी कोरोनाका कारण संक्रमित भएकामध्ये १६ करोड २६ लाख ३ हजार ३ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Last modified on 2021-06-18 11:14:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts