कोरोना खोपमा थप उपलब्धी: नोभाभ्याक्सको खोप नयाँ भेरिएन्टमा पनि प्रभावकारी रहेको दावी
एजेन्सी, ३१ जेठ । खोप निर्माता कम्पनी नोभाभ्याक्सले आफूले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दावी गरेको छ । अमेरिका र मेक्सिकोमा खोपको परीक्षण गर्दा कोरोनाको भेरिएन्टमा खोप ९० प्रतिशत प्रभावकारी देखिएको नोभाभ्याक्सले दावी गरेको हो ।
नोभाभ्याक्सको खोप विभिन्न किसिमका भेरियन्टमा पनि उत्तिकै प्रभावकारी देखिएको पनि दावी गरिएको छ ।
अमेरिकी कम्पनी नोभाभ्याक्सले आफ्नो खोपको प्रभावकारिताबारे नतिजा सार्वजनिक गरेपछि विश्वका अन्य मुलुकमा कोरोना संक्रमण नियन्त्रणको लागि निकै महत्वपूर्ण हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।
कम्पनीले अब अमेरिका, युरोप तथा विश्वका अन्य मुलुकमा खोपको प्रयोगका लागि अनुमति लिन आवेदन दिने योजना बनाएको छ । सेप्टेम्बरको अन्तिमसम्ममा यो खोपले प्रयोगको अनुमति पाउने विश्वास लिइएको छ । त्यतिबेलासम्म मासिक १० करोड डोज कोरोना खोप उत्पादन गर्ने कम्पनीले बताएको छ ।
नोभाभ्याक्सका सीईओ स्ट्यान्ली एर्कले कम्पनीको धेरै खोप कम तथा मध्यम आय भएका मुलुकमा जाने बताएका छन् ।
अहिले अमेरिकाको समग्र जनसंख्याको आधाभन्दा धेरैले कोरोनाको दुवै डोज खोप पाइसकेको अवस्थामा विकासशील मुलुकमा भने एक प्रतिशतभन्दा कम मानिसले पनि कोरोनाको दुवै डोज खोप पाएका छन् ।
नोभाभ्याक्सले गरेको क्लिनिकल परीक्षणमा १८ वर्षभन्दा माथिका करिब ३० हजार मानिस सहभागी भएका थिए । जसमध्ये दुई तिहाइलाई कोरोनाको खोप दिइएको थियो भने बाँकी एक तिहाइलाई औषधि नहालेको खोप दिइएको थियो । खोप लगाएका कसैलाई पनि कोरोनाको गम्भीर लक्षण देखिएन भने औषधि नराखिएको खोप दिएका १४ जनामा कोरोनाको गम्भीर लक्षण देखिएको थियो ।