धनी राष्ट्रहरूको समूह जी–७ ले गरिब मुलुकहरुलाई एक अर्ब खोप उपलब्ध गराउने

बीबीसी, ३१ जेठ । धनी राष्ट्रहरूको समूह जी–७ ले गरिब मुलुकहरुलाई एक अर्ब खोपको मात्रा उपलब्ध गराउन सहमत भएका छन् ।
जी–७ को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन् ।
ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने र उक्त परिमाणमा यूकेले दिने भनेको १० करोड मात्रा पनि समावेश हुने जोनसोनले बताए ।
पत्रकार सम्मेलनमा उनले अक्सफर्ड एस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै “विश्वकै सबैभन्दा लोकप्रिय खोप” भने ।
लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले एस्ट्राजेनेकाको यो कदमलाई “उदारतापूर्ण कार्य’’ को सङ्ज्ञा दिए ।
उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड एस्ट्राजेनेका रहेको बताए ।