चीनले विकास गरेको कोरोना खोपमाथि आशंका, यी मुलुकले दिएनन् अनुमति
एजेन्सी, २६ जेठ । चीनमा बनेको कोरोनाविरुद्धको खोपलाई लिएर विश्वका विभिन्न मुलुकले प्रश्न उठाउन थालेका छन् ।
सऊदी अरब, फिलिपिन्स, बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका मुलुकले चीनियाँ खोपको मान्यता र प्रभावबारे शंका जनाएको छ ।
चीनमा हालसम्म सिनोफार्मा र सिनोभ्यााकले विकास गरेको दुई वटा खोपलाई मान्यता दिइएको छ भने विश्व स्वास्थ्य संगठनले पनि यी खोपलाई मान्यता दिइसकेको छ । तर, जुन मुलुकमा चीनको खोप लगाइएको छ ती मुलुकले आशंका उत्पन्न भएको भन्दैै अनुमति रद्द गरेको छ ।
सबैभन्दा पहिले सऊदी अरबले चीनको खोप लगाउने सर्टिफिकेटलाई अस्विकार गरेको छ । जसले गर्दा चीनको खोप लगाएकाहरुलाई व्यापार व्यवसाय र हजमा जानेहरुका लागि समस्या भएको छ । सऊदी अरबले हालसम्म चीनियाँ खोपलाई अनुमति दिएको छैन ।
सऊदी अरबले फाइजर, एस्ट्राजेनेका, मोडर्ना र जनसन एन्ड जनसनले बनाएको कोरोना खोपलाई मात्रै मान्यता दिएको छ ।
त्यस्तै चीनको खोपले पाकिस्तानमा पनि समस्या भएको छ । पाकिस्तानी सञ्चारमाध्यम अनुसार पाकिस्तानमा पनि चीनले बनाएको खोप लगाउँदै आएको छ ।
पाकिस्तानी गृह मन्त्री शेख राशीदले चीनियाँ खोपको प्रभावकारिता र मान्यताको विषयमा अन्य मुलुकहरुसँग छलफल भइरहेको भन्दै चीनियाँ खोपमाथि आशंका उत्पन्न हुन थालेको बताए ।
यस्तै फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटाटेले चीनको खोप लगाएपछि उनको आलोचना भएको थियो । त्यसपछि उनले चीनले दानमा दिएको खोपलाई फिर्ता लैजान भनेका थिए । फिलिपिन्समा हालसम्म चीनको सिनोभ्याक खोपलाई मान्यता दिइएको छैन ।
यस्तै संयुक्त अरब इमिरेट्स र बहराइनमा पनि चीनको खोपलाई लिएर बहस सुरु भएको छ । चीनले पठाएको सिनोफार्माको दुबै डोज लगाइसकेकालाई अब फाइजरको बूस्टर सट लगाइने भएको छ ।
यी देशहरुमा कोरोनाको दुबै खोप लगाइसकेपनि पछिल्लो समय संक्रमण दर बढ्न थालेपछि आशंका जताइरहेका छन् ।
चीनले हालसम्म मध्य पूर्वका मुलुक, यरोपका विभिन्न मुलुक, एशियाली, अफ्रिकी र अरब र अमेरिकी मुलुकहरुलाई कोरोनाविरुद्धको खोप वितरण गरिसकेको छ ।