विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ लाख ५१ हजार नाघ्यो
भारतमा थपिए ८७ हजार नयाँ संक्रमित
एजेन्सी, २५ जेठ । भारतमा झन्डै दुई महिनापछि एक लाखभन्दा कममा कोरोना संक्रमण देखिएको छ ।
दैनिक ४ लाखसम्म संक्रमित थपिने गरेको भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको छ ।
गत २४ घन्टामा ८७ हजार ३ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवार भारतमा एक लाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ८९ लाख ९६ हजार ९ सय ४९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा भारतमा २ हजार १ सय १५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३ सय ४४ पुगेको छ ।
कोरोनाको दोस्रो लहरका कारण भारत सबैभन्दा बढी प्रभावित बनेको हो । जसका कारण दैनिक संक्रमण ४ लाख नाघेको थियो भने मृत्यु दर ५ हजार नजिक पुगेको थियो । तर, पछिल्लो समय कोरोना संक्रमण दर मृत्यु दर कम हुँदै गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख १२ हजार २ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने ७ हजार ९ सय जनाको मृत्यु भएको छ ।
कोरोना सम्बन्धी तथ्यांक अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार विश्वभर हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या १७ करोड ४३ लाख ६७ हजार ७ सय २९ पुगेको छ भने ३७ लाख ५१ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ । जबकी १५ करोड ७८ लाख ९४ हजार १ सय ४ जना कोरोना संक्रमणपछि निको भएका छन् ।
यस्तै ब्राजिलमा गत २४ घन्टामा ३८ हजार ७ सय ५० जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय १९ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै संक्रमण र मृत्युदर फेरि बढ्न थालेको छ । ब्राजिलमा कोरोनाका कारण हालसम्म १ करोड ६९ लाख ८५ हजार ८ सय १२ जना संक्रमित भएका छन् भने ४ लाख ७४ हजार ६ सय १४ जनाको मृत्यु भइसकेको छ ।
यस्तै अर्जेन्टिनामा गत २४ घन्टामा २२ हजार १ सय ९५, कोलम्बीयामा २१ हजार ९ सय ४९, अमेरिकामा १२ हजार २ सय ८३ नयाँ संक्रमित थपिएका छन् ।
विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सचेत रहन भनिएको छ ।