भियतनाममा कोरोनाको नयाँ भेरिएन्ट देखियो, हावाको माध्यमबाट तीव्र गतिमा फैलिँदै
बीबीसी, १६ जेठ । भियतनाममा कोरोनाको नयाँ भेरिएन्ट फेला परेको छ ।
वैज्ञानिकहरुका अनुसार भारतीय भेरिएन्ट र युके भेरिएन्टको संयुक्त रुपको कोरोनाको हाईव्रिड फेला परेको हो । दुई वटा खतरनाक भाइरसको स्वरुपमा भेटिएको यो भाइरसको हावाको माध्यमबाट तिव्र गतिमा फैलिन थालेको पनि वैज्ञानिकहरुले बताएका छन् ।
भियतनामका स्वास्थ्य मन्त्री गुयेन थान्ह लन्गले कोरोनाको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको पुष्टि गरेका छन् ।
भाइरसले सँधै आफ्नो रुप परिवर्तन गर्ने गरेको छ । अर्थात् भाइरस म्यूटेट हुने गर्छ । प्रायःजसो भेरिएन्ट म्यूटेटपछि निकै खतरनाक र संक्रामक भएर आउँछ । यो तीनै मध्येको रहेको पनि उनले बताएका छन् ।
गत वर्ष जनवरीमा कोभिड १९ भाइरसको पहिचान भएपछि हालसम्म यसको विभिन्न भेरिएन्टहरु फेला परिसकेका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार भियतनामका स्वास्थ्य मन्त्री गुयेनले, भियतनाममा कोरोना भाइसरको नयाँ भेरिएन्ट फेला परेको, जुन भारत र बेलायतमा पहिलोपटक फेला परेको भाइरसको भेरिएन्ट रहेको भनेर सरकारको एक बैठकमा जानकारी गराएका थिए ।
उनले बैठकमै कोरोनाको यो भेरिएन्ट अन्य भाइरसको तुलनामा निकै खतरनाक र हावाको माध्यमबाट फैलिने गरेको जानकारी पनि गराएका थिए ।
भारतमा सन् २०२० को अक्टूबरमा कोरोना भाइरसको एक भेरिएन्ट फेला परेको थियो । जसलाई बी.१.६१७.२ नाम दिइयो । त्यस्तै युके भेरिएन्ट बी.१.१.७ थियो जुन बढी खतरनाक रहेको बताइयो ।
अध्ययनका अनुसार भारतमा फेला परेको भेरिएन्टमा फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी रहेको छ । तर, खोपको एक डोज भने भेरिएन्टका लागि प्रभावकारी नरहेको पनि बताइएको छ ।
भियतनाममा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । एक सातामा मात्रै त्यहाँ ६ हजार ७ सयभन्दा बढी केसहरु फेला परिसकेको छ भने ४७ जनाको मृत्यु भइसकेको छ ।