भारतको नयाँ दिल्लीमा ब्लाक फंगसको महामारी
एजेन्सी, १५ जेठ । कोरोना महमारीकैबिच ब्लाक फंगसको नयाँ महामारी सुरु भएको छ । नयाँ दिल्लीमा ब्लाक फंगस (म्यूकोरमाइकोसिस) संक्रमण तीव्र फैलिएपछि यसलाई दिल्लीको राज्य सरकारले महामारी घोषित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो समय ब्लाक फंगस तीव्र देखिन थालेपछि यसलाई महामारी घोषित गरिएको हो । शुक्रबार मात्र करिब २ सयको संख्यामा ब्लाक फंगसका संक्रमित बिरामी भेटिएका छन् । यो संख्या केही दिनभित्रै ७७३ पुगेको बताइएको छ ।
म्यूकोर्मायकोसिस अर्थात् ब्लाक फंगसले अनुहार, नाक, आँखाको वरपर, मस्तिष्कलगायतमा संक्रमण हुन्छ । यसले आँखाको ज्योति गुम्ने खतरा हुन्छ । यति मात्र नभएर यसले फोक्सोमा समेत खराब असर गर्छ र श्वास लिन गाह्रो हुन्छ ।
पछिल्लो समय कोरोनाबाट निको भएका बिरामीमा तीव्र देखिएको यो संक्रमण हुँदा नाकको रङ फुस्रो हुँदै जाने हुन्छ । यसैगरी आँखाको ज्योति मधुरो हुँदै जाने, एकापट्टिको गाला दुख्ने, दाँत दुख्ने, छाती दुख्ने र श्वास लिन गाह्रो हुने समस्या हुन्छ । खोक्दा रगत पनि आउन सक्छ ।
पछिल्लो समय भारतमा ब्लाक फंगससँगै ह्वाइट फंगसको संक्रमण पनि देखिएको छ ।