भारतमा झन्डै ९ हजारमा ‘कालो ढुसी’ को संक्रमण, २९ राज्यमा महामारी घोषणाको तयारी
बीबीसी, ९ जेठ । भारतमा म्यूकोर्माइकोसिस अर्थात् ‘कालो ढुसी’ का कारण झन्डै ९ हजार जना संक्रमित भएका छन् ।
प्रायः दुर्लभ मानिने यो रोग अहिले भारतमा प्रकोपका रूपमा फैलिन थालेको छ । कोभिड भएर निको हुनेहरुमा यो रोग भयावह रुपमा फैलिँदै गरेको छ ।
हालसम्म कालो ढुसीका कारण ८ हजार ८ सय जनामा संक्रमण देखिएको बीबीसीले लेखेको छ । जसमा हालसम्म ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण म्यूकोर्माइकोसिस देखा परेको हुनसक्ने चिकित्सकहरूले बताएका छन् । मधुमेह भएका बिरामीमा यो ढुसीबाट सङ्क्रमण हुने ठूलो जोखिम छ ।
कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट सङ्क्रमण हुन सक्ने चिकित्सकहरूले बीबीसीलाई बताएका छन् ।
अहिलेसम्म फेला परेका सङ्क्रमितमध्ये आधाभन्दा बढी पश्चिम भारतका गुजरात र महाराष्ट्र राज्यका छन् ।
अन्य १५ वटा राज्यमा पनि कालो ढुसीको सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले भारतका २९ वटा राज्यलाई म्यूकोर्माइकोसिसलाई प्रकोप घोषणा गर्न भनिएको छ ।
इन्दोर सहरस्थित एउटा अस्पतालमा गत साता कालो ढुसी भएका आठ बिरामी थिए । तर शनिवार साँझसम्म त्यो सङ्ख्या बढेर १ सय ८५ पुगेको छ ।
उक्त अस्पतालमा कार्यरत डा. भीपी पाण्डेका अनुसार तीमध्ये ८० प्रतिशतभन्दा बढीलाई तत्कालत शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
“कालो ढुसीको सङ्क्रमण अहिले कोभिड–१९ भन्दा बढी चुनौतीपूर्ण बनेको छ । बिरामीले समयमा राम्ररी उपचार नपाउने हो भने मृत्यदर ९४ प्रतिशतसम्म पुग्न सक्छ,” उनले भने ।
उनका अनुसार यसको उपचार पनि महँगो छ तथा औषधिको अभाव छ ।