भारतमा अहिले पनि झण्डै ५० प्रतिशतले मास्क लगाउँदैनन्



Download our app to get more features

एजेन्सी, ८ जेठ । भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ । 

यस्तै, मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले मुख मात्रै छोप्ने तर नाक नछोप्ने गरेको पाइएको छ ।  १४ प्रतिशत नागरिकले मात्रै मास्कको सही उपयोग गरेका पाइएको छ । मास्कसहित स्वास्थय मापदण्डको सही प्रयोग नगर्दा जोखिम झनै बढ्दै गएको अध्ययनलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतमा सङ्क्रमण बढ्दै गए पनि स्वास्थ्यका मापदण्ड पालना भने लापरबाही छ । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले भने, हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।

उनले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले नाक राम्ररी नछोप्ने गरेको पाइएको बताए । सहसचिव अग्रवालका अनुसार १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेका छन् ।  कर्नाटक, पश्चिम बङ्गाललगायतका केही राज्यहरुमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उनले बताए । 

ुकुनै एउटा व्यक्तिले दूरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ, उनले भने।  अध्ययनका आधारमा पनि उनले भौतिक दूरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिए ।  

भारतमा कोरोना भाइरसका नयाँ बिरामीको सङ्ख्या घट्दै गए पनि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको दैनिक सङ्ख्यामा कमी आउन सकेको छैन ।  भारतमा अझै पनि झण्डै ३० लाख जनामा सक्रिय सङ्क्रमण छ । 
भारतमा गएको २४ घण्टामा दुई लाख ५४ हजार ३ सय ९५ जना नयाँ सङ्क्रमित थपिएका छन् भने चार हजारभन्दा धेरैको मृत्यु भएको छ ।

Last modified on 2021-05-22 18:41:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts