भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै
एजेन्सी, ७ जेठ । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको दैनिक सङ्ख्या आज पनि घटेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ५९ हजार पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो अघिल्लो दिनको तुलनामा १६ हजार ६ सय ७० जनाले कम रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजो पनि सङ्क्रमण पुष्टि हुनेको दैनिक सङ्ख्या घटेको थियो । एकैदिनमा चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुन थालेको भारतमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको छ । तर सङ्क्रमण घटे पनि मृत्यु हुनेको सङ्ख्या भने उस्तै छ । गएको २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणबाट चार हजार दुई सय नौ जनाको मृत्यु भएको छ ।
यो सङ्ख्या अघिल्लो दिनको तुलनामा तीन सय २९ जनाले बढी हो । भारतमा अहिलेसम्म दुई करोड ६० लाख ३१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई लाख ९१ हजार तीन सय ६५ जनाको मृत्यु भएको छ । दुई करोड २७ लाख १२ हजारभन्दा धेरै निको भएका छन् ।