फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप अब एक महिनासम्म फ्रिजमा राख्न सकिने
बीबीसी, ५ जेठ । युरोपेली सङ्घ ईयूको औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।
युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पग्लिएर द्रवीभूत भएको अवस्थामा नखोलिएको भायल एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।
यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो ।
यो खोप बढी समय खोप भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
फाइजर खोपलाई निकै कम तापक्रममा राखेर ढुवानी गर्नुपर्ने भएकाले त्यसलाई खोप प्रयोगमा एउटा अवरोधका रूपमा लिइएको थियो ।
यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो ।
फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था स्वीकृत गरेको थियो ।
सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो ।
यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचका बालबालिकालाई समेत प्रयोग गर्न स्वीकृति दिएको छ ।
उक्त उमेर समूहमा कोभिड खोप प्रयोगको स्वीकृति दिने क्यानडा पहिलो देश बनेको छ ।